PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

वसन्तको त्यो चौका र छक्का जसले नेपाललाई नामिबियाविरुद्ध उसकै भूमिमा विजयी गरायो



पहिलोपोस्ट

वसन्तको त्यो चौका र छक्का जसले नेपाललाई नामिबियाविरुद्ध उसकै भूमिमा विजयी गरायो
फोटो साभार : Peter Della Penna/Cricinfo

काठमाडौं : वसन्त रेग्मी नेपाली क्रिकेट टिमको ‘क्राइसिस म्यान’ उपनामले चिनिन्छन्। यी भेट्रान स्पिनरले धेरै पटक आफ्नो बलिङमार्फत् यसलाई धेरै पटक पुष्टि गरिसकेका छन्। तर बसन्तले ब्याटिङमा पनि त्यो प्रमाणित गरेर देखाए आइसीसी डब्लुसिएल डिभिजन टू मा।

घरेलु टोली नामिबियाविरुद्ध नेपाललाई जितका लागि १८ बलमा १८ रन आवश्यक थियो जुन बेला नेपालसँग १ विकेट मात्र बाँकी थियो। क्रिजमा थिए वसन्त रेग्मी र सन्दीप लामिछाने।

४७औँ ओभरको चौथो बलमा सोमपाल कामी आउट भएपछि सन्दीप क्रिजमा पुगेका थिए।

४८औँ ओभरमा जे स्मिथको ६ बल सामना गर्दा वसन्तले मात्र २ रन बनाउन सके। त्यसपछि नेपालको लागि जितको समिकरण बन्यो, १२ बलमा १६ रन आवश्यक।

स्ट्राइकमा थिए सन्दीप। कप्तान सरेल बर्जरको सुरुको दुई बलमा सन्दीपले रन जोड्न सकेनन्। तेस्रो बलमा १ रन लिएर सन्दीपले वसन्तलाई स्ट्राइक दिए। यतिखेर नेपाललाई खेल जित्न १५ रन आवश्यक थियो। वसन्तले चौथो बलमा छक्का प्रहार गर्दै खेल केही सहज बनाए। लगत्तै उनले २ रन जोडे। अन्तिम बलमा सन्दीपले रन लिन सकेनन्।

अब नेपाललाई खेल जित्न ६ बलमा ७ रन चाहियो। स्ट्राइकमा उनै वसन्त थिए। जेएन फ्राइलिन्को पहिलो बलमा वसन्तले २ रन जोडे। दोस्रो बलमा चदका प्रहार गर्दै स्कोर टाइ गराए। तेस्रो बलमा लेगबाईमा १ रन पाएपछि नेपालले चार बल बाँकी छँदै १ विकेटले खेल जित्यो।

वसन्त रेग्मीले निकै धैर्यपूर्ण ब्याटिङ गर्दै नेपालले जिताए। उनले नै नेपाली इनिङ्सको एक मात्र छक्का प्रहार गरे।

४३औँ ओभरमा पानी परेर खेल रोकिदा नेपाललाई ४२ बलमा २८ रन आवश्यक थियो र क्रिजमा बसन्त र सोमपाल थिए। तर पानी रोकिएपछि पुन: खेल सुरु भयो र नेपालले नवौँ विकेट गुमायो। तैपनी बसन्तले सम्हालियर ब्याटिङ गरेपछि नेपालले १ विकेटको रोमाञ्चक जित हात पार्दै महत्वपूर्ण २ अंक जोडेको हो।

वसन्तले २४ बल खेलेर २ चौका तथा १ छक्का प्रहार गर्दै नटआउट २४ रन जोडे। सन्दीप १ रनमा नटआउट रहे। नेपालको लागि शरद भेषावकरले सर्वाधिक २९ रन बनाएका थिए। यस्तै कप्तान पारसले १९, डेब्यु ब्वाइ रोहित कुरमा पौडेलले १७, ज्ञानेन्द्र मल्लले १५ तथा सोमपाल कामीले १३ रन जोडे। दीलिप नाथ र आरिफ शेखले खाता खोल्न सकेनन् भने दीपेन्द्र ऐरि ६ तथा करण केसी ३ रन बनाएर आउट भए।

कप्तान पारस खड्काले टस जितेर फिल्डिङ रोजेपछि त्यसलाई बलरहरुले सही सावित गर्दै नामिबियालाई ३४.२ ओभरमा १३८ रनमा अलआउट गरेको थियो। नेपालका लागि सन्दीपले सबैभन्दा किफायती बलिङ गर्दै सर्वाधिक ४ विकेट लिए। उनले ८.२ ओभरमा २ मेडन राख्दै १८ रन मात्र खर्चे। यस्तै सोमपाल कामीले ३ विकेट हात पारे। नामिबियाका लागि क्रेइग विलियम्सले सर्वाधिक ४१ रन बनाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell