
काठमाडौँः वाम गठबन्धनबीच भएको भागवण्डा अनुसार एमालेको भागमा परेको प्रदेश १ र ३ को मुख्यमन्त्री को हुने अझै स्पष्ट भइसकेको छैन। आकांक्षी धेरै भएपछि मुख्यमन्त्रीको उम्मेदवारमा सर्वसम्मत समेत हुन सकेको छैन। सर्वसम्मत नभए बहुमतीय प्रक्रियाबाट दलको नेताको चयन हुनेछ।
संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीको उम्मेदवारकै लागि पनि संसदीय दलको नेता हुनुपर्छ। संसदीय दलको नेता चयनका लागि शुक्रबार दुबै प्रदेशमा संसदीय दलको बैठक बस्दैछ।
एकभन्दा बढी आकांक्षीले निरन्तर आफ्नो पक्षमा लविङ गरिरहेका कारण प्रदेश १ र ३ मा एमालेमा संसदीय दलको नेतामा सहमतिको सम्भवना न्युन छ। एमालेले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनबाट दलको नेता छान्ने अधिकार प्रदेशसभालाई नै दिएको थियो।
प्रदेश १ मा एमालेका दुई समूहका तीन प्रतिस्पर्धी छन्। प्रदेश १ का इञ्चार्ज तथा केन्द्रीय सचिव भीम आचार्यको दाबी मुख्यमन्त्रीमा छ। यस्तै, प्रदेश १ का सह–इञ्चार्ज तथा केन्द्रीय सदस्य शेरधन राईको दाबी पनि कायमै छ। आचार्य एमालेमा माधव नेपाल समूह निकट छन्। राई अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्।
नेपाल समूहबाटै जीवन घिमिरेको पनि मुख्यमन्त्रीमा दाबी छ। घिमिरे र आचार्य एकै गुटबाट अन्तिमसम्म उम्मेदवार कायम रहेमा राईलाई जितका लागि सहज हुने अनुमान गरिएको छ। तुलनात्मक रुपमा प्रदेश १ मा एमालेमा ओलीभन्दा नेपाल समूह बलियो छ। आचार्य र राईमात्र उम्मेदवार भएमा राईको दलको नेता बन्ने सम्भावना न्युन हुनेछ।
प्रदेश १ मा एमालेको एकल बहुमतसहित ५१ सदस्य छन्। दलको नेता चयन हुन कम्तीमा २६ सदस्य आवश्यक पर्नेछ।
प्रदेश ३ मा पनि दुई गुटबाट दुईजनाको दाबी यथावत छ। नेपाल समूहबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको मुख्यमन्त्रीमा दाबी छ। यस्तै, ओली समूहबाट राजेन्द्र पाण्डे र डोरमणि पौडेलको दाबी यथावत छ। नवौँ महाधिवेशनसम्म नेपाल समूहमै रहेका पाण्डेले चुनावअघि मात्र गुट परिवर्तन गरेका हुन्। पाण्डेमाथि अोली समूहले तत्काल पूर्ण सहयोग गर्ने सम्भावना न्युन छ। गुटभित्रै पाण्डेको सट्टा पौडेल वा अन्य उम्मेदवार हुनुपर्ने माग पनि छ। ज्येष्ठ सदस्य पौडेलको चर्चा सभामुखमा पनि छ।
ओली समूहबाट अर्को कुनै उम्मेदवार नभई गृटको अंकगणितले साथ दिएमा शाक्यभन्दा पाण्डेको दलको नेता बन्ने सम्भावना बढी छ। प्रदेश ३ मा नेपाल समूहभन्दा ओली समूह बलियो छ ।
प्रदेश ३ मा शनिबार सभामुख चयनको कार्यतालिका रहेकाले शुक्रबार संसदीय दलको नेतामा सहमति नभए बहुमतका आधारमै भए पनि छिनोफानो हुनेछ। बहुमतीय प्रक्रियाबाट दलको नेता चयन हुन कम्तीमा ३० सदस्य आवश्यक पर्नेछ। एमालेको एकल बहुमत रहेको प्रदेश ३ मा ५८ सिटमा एमाले विजयी भएको छ।