
विराटनगर: नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज मतदान हुने भएको छ।
संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहेका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री शेरधन राईले आज बिहान ११:३० बजे जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराएका छन्।
आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवाङ (पाँचथर) र तुलसी न्यौपाने (संखुवासभा) रहेका छन् भने राईको प्रस्ताव र समर्थकमा हिक्मत कार्की (झापा) र जगदीश कुशियत(सुनसरी) रहेका छन्।
दाबी विरोधको प्रक्रिया पूरा भएपछि अपरान्ह ३ः३० बजेदेखि मतदान हुने नेकपा(एमाले) मोरङका अध्यक्ष विनोद ढकालले जानकारी दिए। प्रदेश नं १ मा नेकपा (एमाले)को प्रत्यक्षतर्फ ३६ र समानुपातिकतर्फ १५ गरी कुल ५१ जना प्रदेशसभा सदस्य छन्। तीमध्ये २६ मत ल्याउनु हुनेले संसदीय दलको नेता हुनेछन्।