PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

बौद्धको १२ किमी बाटोमा बाधैबाधा : सडक विस्तार रोक्न ११२ स्टे अर्डर



दिनेश खड्का

बौद्धको १२ किमी बाटोमा बाधैबाधा : सडक विस्तार रोक्न ११२ स्टे अर्डर

काठमाडौं: निर्माणाधीन चाबहिल-साँखु  १२ किलोमिटरको सडकमा १ सय १२ वटा स्टे अर्डर जारी  भएको छ। यसैगरी विस्तारमा खानेपानीका पाइप, नेपाल विद्युत प्राधिकरणका पोल, सामुदायिक वनका रुख, सीमांकन विवाद, नयाँ नापीका विवाद, मुआब्जा लगायतका सयौं  समस्या छन्।

स्टे अर्डर र स्थानीयका अवरोधका  कारण २०७२ असोजबाट निर्माण थालिएको सडक साढे दुर्इ वर्ष भइसक्दा पनि बल्ल २५ प्रतिशत मात्रै निर्माण पूरा भएको उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर तथा प्रवक्ता विश्वविजयलाल श्रेष्ठले जानकारी दिए। 'समस्यै समस्या छन् कसरी बिस्तार हुन्छ?,' श्रेष्ठ प्रश्न गर्छन्।

सडक विस्तार आयोजनाले अहिले भएको चौडार्इलार्इ विस्तार गरेर २२ मिटर बनाउन २०७२ असोज १३ गते पाँचवटा प्याकेज बनाएर ठेक्का सम्झौता लगाएको हो।

सम्झौता अनुसार यतिबेला कालोपत्रेको काम धमाधम हुनुपर्ने हो। तर, विभिन्न खालका अवरोध र विवादका कारण अहिलेसम्म निर्माण कार्यले गति लिन सकेको छैन।

अहिले सबै खण्डको विस्तार कार्य ठप्प रहेको उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। प्रवक्ता श्रेष्ठ भन्छन्- 'हामीले विस्तार थाल्नुअघि उपत्यका विकास प्राधिकरणले सडकमा मिचेर बनार्इएका संरचनाहरु भत्काउनुपर्छ। संरचना नभत्काएकाले विस्तार कार्यअघि बढाउन सकेका छैनौं।'

उपत्यका  विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीका अनुसार स्थानीयले गरेको अवरोध र अदालतको स्टे अर्डरका कारण घर टहरा र सडकमा परेका संरचनाहरु हटाउन सकिएको छैन। स्थानीयले घर जग्गा दुवैको मुआब्जा मागेर समेत विवाद झिकिरहेको उनले जानकारी दिए।

यो खण्डमा ७ मिटरसम्म सडकमा घर, टहरा परेको उपत्यका विकास प्राधिकरणले जनाएको छ। कहिलेबाट विस्तार कार्य अघि बढ्छ र कहिले पूरा हुन्छ कुनै निकायसँग जवाफ छैन।

कुल १२ किमीको यो सडक अहिले बिग्रँदो अवस्थामा पुगेको छ। सडकमा खाल्डाखुल्डी मात्रै छन्। आयोजनाको तथ्याङ्क तीनवटा प्याकेजमा ३० प्रतिशत, एउटा प्याकेजमा २५ प्रतिशत काम भएको छ। पहिलो दुर्इवटा प्याकेजमा काम नै अघि बढ्न नसकेको आयोजनाले जनाएको छ।

चाबहिल देखि जोरपाटीतर्फको पहिलो साढे ३ किमीमा युनाइटेड विल्डर्स एण्ड इन्जिनियर्स प्रालीले बिस्तारको काम गरिहेको छ। हाल नयाँ  सीमांकन भए पनि नयाँ नापीको विवाद निकाली घर नभत्काएकाले विस्तारको कुनै पनि काम हुन सकेको छैन।

बौद्ध जोरपाटी क्षेत्रमा अत्यधिक ढल ‘लिकेज’ भएका कारण १२ महिना सडक हिलाम्मे बन्ने गरेको छ। विश्व सम्पदा सुचीमा सुचीकृत बौद्ध स्तुपा समेत यही खण्डमा पर्दछ। बौद्ध स्तुपा घुम्न आउने पर्यटकहरुले समेत सडकका कारण सास्ती खेपिरहनुपरेको छ।

दोस्रो प्याकेज करिब साढे २ किमी जोरपाटीबाट दक्षिणढोका सम्म बज्रगुरु च्याङमिलार/खानीले विस्तार ठेक्का पाएको हो। यस खण्डमा ३० प्रतिशत निर्माण कार्य पूरा भएको छ। दक्षिण ढोकामा २३ वटा स्टे अर्डर र खानेपानी,विद्युत पोल नहटाएका कारण विस्तार कार्य अघि बढाउन सकिएको छैन।

तेस्रो प्याकेज दक्षिणढोकादेखि थली ३ किमी विस्तारको जिम्मा बज्रगुरु/विरुवा/खानी जेभीले पाएको छ जसको ३० प्रतिशत निर्माण कार्य पूरा भएको छ। थली क्षेत्रमा ३८ घरको स्टे अर्डरका कारण काम रोकिएको छ। यो क्षेत्रमा पनि विद्युतका पोल, खानेपानीका पाइप लगाएतका हटाउन सकिएको छैन।

चौथौं खुलालटारदेखि सलम्बुटार साढे दुर्इ किमी विटी/सुनकोशी/वल्डवार्इ जेभीले पाएको छ। जसको ३० प्रतिशत सकिएको छ। खुलालटार र सलम्वुटारमा गरी ५१ स्टेअर्डर परेका छन्।

पाँचौ प्याकेज करिब १ किमीको लामा/समानान्तर जेभीले पाएको छ। जसको साँखु क्षेत्रमा केही स्टे अर्डरका कारण निर्माण कार्य अघि बढ्नै सकेको छैन।

सडकलार्इ शहरको नशा मानिन्छ भने विकासको एक महत्वपूर्ण पूर्वाधार। राजधानी शहरमा यसको महत्व अझ बढी हुन्छ। तर राजधानी शहर काठमाडौंका सडकको अवस्था भने खस्किएको छ। सरकारी निकायका बीचमा समेत समन्वय हुन नसक्दा कामले गति लिन सकेको छैन।

समयमै सडक  निर्माण पूरा नहुँदा स्थानीय सडक विस्तारका नाममा सास्ती खेप्नु परेको छ। सडक विस्तार अभियानमा एकिकृत गुरुयोजना नहुँदा  निर्माण कार्य प्रभावकारी नहुने तथा हालको सडक निर्माण अभियान पनि दिगो नहुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell