PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

भावी मुख्यमन्त्री शेरधन राई भन्छन्- ‘मेरो जीवन अपूर्ण छ..’



अनन्तराज न्यौपाने

भावी मुख्यमन्त्री शेरधन राई भन्छन्- ‘मेरो जीवन अपूर्ण छ..’

विराटनगर : प्रदेश १ मा नेकपा एमालेको संसदीय दलमा निर्वाचित भएर मुख्यमन्त्री हुने निश्चित भइसकेका नेता शेरधन राईले आगामी फागुन २ भित्र प्रदेशको नयाँ सरकार गठन भइसक्ने बताएका छन्।

निर्वाचन परिणामलगत्तै स्थानीय सञ्चारकर्मीसित राईले नयाँ सरकार गठन गरिसक्ने समयको जानकारी दिएका हुन्।

विराटनगरस्थित जिल्ला समन्वय समिति स्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा भीम आचार्यलाई २ मतले पछि पार्दै राई निर्वाचित भएका हुन्। राईले २६ मत पाए भने आचार्यले २४ मत पाए। एक मत भने बदर भएको थियो।

वाम गठबन्धनअन्तर्गत सरकारमा माओवादी केन्द्रलाई ३० प्रतिशत स्थान दिने सहमति भएको छ जसअनुसार एक मुख्यमन्त्री र ९ मन्त्रीसहितको १० सदस्यीय मन्त्रिमण्डलमा माओवादी केन्द्रले ३ मन्त्री पाउने छ। 

प्रदेश १ को सरकार भ्रष्टाचारमुक्त, सुशासनयुक्त र पारदर्शी हुने शेरधनको दाबी थियो। यस प्रदेशलाई सबैभन्दा समृद्ध र विकसित बनाउने आफ्नो योजना रहेको उनले सुनाए।

संसदीय दलको नेताका लागि निर्वाचन भए पनि आफूले काम गर्ने बेलामा कसैलाई पाखा र काखा नगर्ने वचनवद्धता प्रकट गर्दै राईले आफ्नो काम गर्ने शैली पृथक भएकाले कसैप्रति भेदभाव नहुने स्पष्ट पारे।

अविवाहित छन् शेरधन 


आफ्नो जीवन नै मुलुक र जनताका लागि समर्पित रहेको बताउने शेरधन हालसम्म अविवाहित छन्। आउँदो फागुन ११ गते उनको जन्मदिन पर्छ। उनी २०२७ सालमा जन्मेका हुन्।

यसअघि उनले मुख्यमन्त्रीको शपथ लिएपछि विवाह गर्ने बताएका थिए।

‘हो, एक हिसाबले मेरो जीवन अझै अपूर्ण छ’, संसदीय दलको मत परिणाम प्राप्त भएपछि सञ्चारकर्मीलाई राईले भने, ‘तर अब यही अवधिमा खुशीको खबर सुन्न पाउनु हुनेछ।’
 

पार्टीको जिल्ला प्रमुख चार पटक


भोजपुरको दक्षिणी क्षेत्र अहिलेको आमचोक गाउँपालिका (पहिलेको थिदिङखा) गाविसमा जन्मिएका शेरधनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। 

‘कक्षा ७ सम्म गाउँकै स्कुल पढियो’, उनले भने, ‘त्यसपछि घोरेटारको सगरमाथा माविबाट एसएलसी पास गरेर भोजपुर क्याम्पसबाट बिए गरेँ। स्नातकोत्तर चाहिँ पाटन संयुक्त क्याम्पसबाट सम्पन्न भयो।’

आम चुनाव २०५६– मा भोजपुरबाट जितेपछि त्यस बेलाको प्रतिनिधि सभाका कान्छा सदस्य शेरधन नै थिए। २०७०– को संविधान सभामा पनि उनले बाजी मारे। उनी सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री भए। महत्वपूर्ण मानिएको सुशासन तथा अनुगमन समितिमा पनि रहे। 

घोरेटारमा माध्यमिक स्तरमा पढ्दै गर्दा राई अखिलको राजनीतिमा आकर्षित भए। पार्टीको सङ्गठित सदस्यता २० वर्षको कलिलो उमेरमा २०४७ मै प्राप्त गरे।
 
अनेरास्ववियुको पूर्वाञ्चल प्रमुख २ पटक भइसकेका शेरधनल भोजपुर जिल्लाको पार्टी प्रमुख लगातार ४ पटक भएका छन्।

‘तीन पटक सचिव भएँ, त्यस बखत सचिव नै प्रमुख हुने वैधानिक व्यवस्था थियो’, उनले भने, ‘अध्यक्ष प्रमुख हुने प्रावधान आएपछि अध्यक्ष नै भएँ।’

राई २०७० वैशाख २७ गते पार्टीको केन्दीय सदस्यमा मनोनीत भए। हाल पार्टीको पोलिट ब्युरो सदस्य छन्।

कुशल खेलाडी पनि


राजनीति सँगसँगै शेरधन भलिबलका पनि कुशल खेलाडी हुन्। 

‘मामा ब्रिटिश आर्मीमा हुनुहुन्थ्यो, म १० वर्षकै छँदा जापानिज भलिबल ल्याइदिनु भयो’, उनले भने, ‘भलिबल एक्लै खेल्ने कुरा भएन, मैले त्यसलाई स्कूल लगेँ। मेरै भलिबल भएका कारण स्कूलको भलिबलको कोर्टमा मेरो एउटा ठाउँ सधैँ सुरक्षित हुन्थ्यो।’

उनले २०५१ सालसम्म क्षेत्रीय स्तरका खेलमा धेरै पटक भाग लिए। २०४६ सालमा जिल्लाको उत्कृष्ट खेलाडी पनि घोषित भए। 

‘भलिबलबाहेक ताइकान्डो, टेबुल टेनिस र ब्याडमिन्टन पनि उत्तिकै खेल्छु’, शेरधनले सुनाए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell