PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

डिभिजन टू : नेपाल ओमानसँग ६ विकेटले पराजित



पहिलोपोस्ट

डिभिजन टू : नेपाल ओमानसँग ६ विकेटले पराजित
फोटो : आइसीसी

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को दोस्रो खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १३९ रनको सामान्य लक्ष्य ओमानले ३५.१ ओभरमा  ४ विकेट गुमाएर पुरा गर्दै प्रतियोगितामा पहिलो जित निकालेको हो।

यता नेपालको भने यो पहिलो हार हो। नेपालले बिहीवार पहिलो खेलमा घरेलु टोली नामिबियामाथि १ विकेटको जित हासिल गरेको थियो भने ओमान क्यानडासँग ८ विकेटले पराजित भएको थियो।

ओमानलाई पहिलो जित दिलाउने क्रममा कलिमुल्लाहले बलिङमा ४ विकेट लिदा अकिव इल्यासले ब्याटिङमा सर्वाधिक ४६ रनको योगदान गरे। यस्तै वैभव वाटेगाओनकरले नटआउट ३७ रनको योगदान गरे।

विन्डहोकस्थित अफिज पार्कमा ओमानले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४६ ओभरमा १३८ रनमै अलआउट भएको थियो।

पुन: एकपटक नेपालको ओपनिङ राम्रो हुन सकेन। नेपाललले ३८ रन बनाउदा दुवै ओपनर ज्ञानेन्द्र मल्ल (७) र दिलिप नाथ (१९) लाई गुमाइसकेको थियो।

शरद भेषावरकले सर्वाधिक २२ रन बनाएको नेपाली इनिङ्समा दिपेन्द्र सिंह ऐरिले २०, कप्तान पारस खड्काले १७ तथा रोहित पौडेलले १४ रन बनाए। सोमपाल कामी १७ रनमा नटआउट रहे।

नेपाललाई अलआउट गर्न ओमानका कलिमुल्लाहले सर्वाधिक ४ तथा बिलाल खानले २ विकेट लिए।

१३९ रनको लक्ष्य पछ्याएको ओमानका ओपनर स्वप्निल खाड्यलाई सोमपाल कामीले तेस्रो ओभरमा १ रनमा आउट गर्दै नेपाललाई सुरुवाती सफलता दिलाएका थिए। तर त्यसपछि अकिव इल्यसले दोस्रो विकेटका लागि जतिन्दर सिंहसँग ३५ तथा तेस्रो विकेटका लागि वैभव वाटेगाओनकरसँग ४६ रनको साझेदारी गर्दै ओमानको जितको आधार तय गरेका थिए।

४६ रनमा बसन्त रेग्मीको बलमा बोल्ड हुनुअघि अकिवले ५३ बल खेल्दै ५ चौका समेत प्रहार गरेका थिए। जतिन्दर सिंहले २४ रन जोडे।

यस्तै वाटेगाओनकरले नटआउट ३७ रन बनाए भने कप्तान सुल्तान अहेमद १६ रनमा नटआउट रहे।

नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए। सोमपाल कामी र बसन्त रेग्मीले १-१ विकेट लिए।

नेपालले अब आइतवार युएईसँग खेल्नेछ भने ओमानले नामिबियासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell