काठमाडौं : नेपाली सेनाका कृष्ण बस्नेतले प्रधानसेनापति खुल्ला म्याराथनको उपाधि जितेका छन्। बस्नेतले २ घण्टा २२ मिनेट ५२ सेकेण्डमा दौड पूरा गर्दै पहिलो स्थान हासिल गरेका हुन्।
यस्तै सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की २ घण्टा २५ मिनेट ३७ सेकेण्डमा दौड पूरा दोस्रो भए भने नेपाली सेनाकै राजन खत्री २ घण्टा २९ मिनेट १२ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए।
उपाधिसहित बस्नेतले नगद १ लाख, मेडल, प्रमाण पत्र र ट्रफी हात पारे।
यस्तै दोस्रो देखि छैटौँ स्थान हासिल गर्नेले धावकहरुले क्रमशः ५० हजार, २५ हजार, १५ हजार, ७ हजार, ५ हजार तथा मेडल र प्रमाण पत्र प्राप्त गरे।
हाफ म्याराथन २१ किमीअन्तर्गत महिलातर्फ नेपाली सेनाकी विश्वरुपा बुढा प्रथम, सेनाकै रेशु बस्नेत दोस्रो तथा सशस्त्र प्रहरी बलका विन्द्रा धनके श्रेष्ठले तेस्रो भए।
पहिलो, दोस्रो र तेस्रो हुने धावकहरुले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगद पुरस्कार तथा मेडल र प्रमाण पत्र प्राप्त गरे।
४५ वर्षमुनि पुरुषतर्फको २१ किमि दौडमा नेपाली सेनाका गजेन्द्र राज राई पहिलो, रामजी बस्नेत दोस्रो र कल्याण बानियाले तेस्रो भए।
४५ वर्ष माथिको २१ किमि विधामा भिम बहादुर गुरुङ पहिलो, कपिल भट्ट दोस्रो र दरिन बहादुर खड्का तेस्रो भए। उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार हात पारे।
म्याराथनको विजेता बस्नेतले बजाजले स्पोनसर गरेको १६० सिसिको प्लसर मोटरसाइकल समेत प्राप्त गर्नेछन्। उनलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले बजाज मोटरसाइकलको साँचो हस्तानतरण गरे।
यस्तै महिला हाफ म्याराथनमा विजेता बनेकी विश्वरुपाले एक थान स्कुटर हात पार्नेछिन्। विश्वरुपा बुढालाई सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती रीता क्षत्रीले स्कुटरको साँचो हस्तान्तरण गरिन्।
यसैगरी विदेशी सैनिक सहचारी एवं कूटनीतिज्ञहरु सहितको नेपाली सेनाका अधिकृतहरुको १० कि.मि. दौड (महिला/पुरुष), विभिन्न विद्यालयका छात्र-छात्राहरुको ५ किलोमिटर दौड तथा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विदेशी कुटनीतिक पदाधिकारी र निजामति उच्च पदाधिकारीहरु सम्मिलित ५ किलोमिटर वाकाथन समेत आयोजना गरिएको थियो।
प्रधान सेनापति क्षत्रीले ओलम्पिकमा सहभागिता जनाएका एथ्लेटिक्सका ३ र भारत्तोलनका १ गरी ४ पूर्व खेलाडीहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कारबाट सम्मान गरेका थिए।