
काठमाडौं: प्राध्यापक डाक्टर गोविन्द केसीले प्रधानन्याधीश गोपाल पराजुलीले तत्कालै पदबाट राजीनामा नदिए अनशन बस्ने बताएका छन्।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गर्दै केसीले पराजुली पदमा बस्न लायक नरहेको भन्दै राजीनामा माग गरेका हुन्।
नागरिकता, शैक्षिक प्रमाणपत्र लगायतका प्रमाणपत्रमा पराजुलीले सम्बन्धित निकायलाई झूक्याएको उनको आरोप छ।
केसीले भने, ‘पराजुलीका विभिन्न निकाय तथा अभिलेखमा चार प्रकारका फरकफरक जन्म मितिहरु छन। उनले अनुचित फाइदाको लागि जन्ममिति तथा शैक्षिक प्रमाणपत्रहरु सच्याएका छन्।’
त्यसैगरि वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको छानविन गर्न केसीले माग गरेका छन्।
पराजुलीले न्यायको बलात्कार गरेको भन्दै केसीले भने, ‘यस्तो बलात्कारी र अपराधी प्रधान्याधीश हुन सक्दैन। तत्काल राजीनामा दिनुपर्छ। पराजुलीलाई छानबिन गरी कानुनी कारवाही गर्नुपर्छ।’
पराजुलीले मेडिकल कलेजको मुद्दामा गरेको फैसला सम्झिदै केसीले भने, ‘गोपाल पराजुलीको एकपछि अर्को अपराधहरु सार्वजानिक भइरहेको छ। उहाँजस्तो मान्छेले कस्तो न्याय सम्पादन गर्छन। अब यस्तो हुनुहुन्न।’
केसीका माग यस्ता छन्:
विचाराधीन मुद्दामा प्रभाव पार्ने गरी चलखेल गरिरहेको र अहिले पनि विवादास्पद कार्यहरु गरिरहेको हुनाले प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिनुपर्छ।
गोपाल पराजुलीले दुषित रुपमा प्राप्त गरेका नागरिकताका प्रतिलिपिहरु, शैक्षिक प्रमाणपत्रहरु तथा तिनका आधारमा भएका नियुक्त बदर गरी उहाँलाई कानुनी कारवाही गरियोस्।
उहाँलाई विपक्षी बनाइ ल्याएको अदालतको अवहेलना मुद्दा तत्काल दर्ता गरी कारवाही गरियोस्।
अधिवक्ता सुरेन्द्र भण्डारीलाई ज्यान मार्ने धम्की दिएको विषयको उजुरीका सम्बन्धमा कल डिटेल तथा भ्वाइस रेकर्ड झिकाउने लगायतका कार्य गरी गम्भिरतापूर्वक अनुसन्धान गरियोस्।
उहाँको विवादित नागरिकता तथा शैक्षिक प्रमाणपत्र सम्बन्धि अभिलेखहरुको तत्काल सूचना उपलब्ध गराइयोस्।