PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

वीरगंजलाई प्रदेश केन्द्र माग्दै बसेको रिले अनशन ३९ औं दिनमा: रौतहटबासीको पनि साथ



राधेश्याम पटेल

वीरगंजलाई प्रदेश केन्द्र माग्दै बसेको रिले अनशन ३९ औं दिनमा: रौतहटबासीको पनि साथ

वीरगंज: प्रदेश नं २ को स्थायी राजधानी वीरगंजलाई बनाउनु पर्ने माग राख्दै वीरगंजमा जारी आन्दोलनमा रौतहटले समर्थन जनाएको छ। 
आन्दोलन थालेको ३८ दिनपछि आज ३९ औं दिन रौतहटबासीले रिले अनशनमा सहभागी हुन् वीरगंज आएका हुन्।

तात्व दास समाजको केन्द्रीय अध्यक्ष तथा रौतहट गरुडाका निवासी राजकुमार दास तात्वाको नेतृत्वमा आधा दर्जन व्यक्तिहरु अनशन बस्न वीरगंज आएका हुन्। 

वीरगंज राजधानी संर्घष समितिका सहसंयोजक राजकुमार गुप्ताले दिएको जानकारी अनुसार रौतहटबाट राजकुमार दाससँगै रामनारायण दास, छठु दास, मिश्रीलाल दास, अमरेन्द्रदास, दिपक दास अनशनमा सहभागी हुन आएका हुन्।

१३ जना अनशन बसेको टिममा अन्य बारा पर्साका तात्वा समूदायका तुलसी दास, राजेश्वर दास, विभिषण दास, रामेश्वर दास, तपसी दासलगायत रहेका छन्। रौतहटवासीलाई संघर्ष समितिका सहसंयोजक गुप्ताले फुलमाला लगाई स्वागत गरे।

वीरगंजको रिले अनशनमा यस अघि पर्सा, बाराका जनताको समर्थन रहदै आएको अवस्थामा आज देखि रौतहटवासीको समर्थन पाएपछि आन्दोलनलाई थप अर्थपूर्ण मान्न थालिएको छ। पर्सा, बारा रौतहटवासीसँग समन्वय गर्न अन्तर जिल्ला संवाद समिति गठन गरी पनि समन्वय भइरहेको सहसंयोजक एमाले नेता राजकुमार गुप्ताले जानकारी दिए।

रौतहट निवासी तथा तात्वा दास समाजका केन्द्रीय अध्यक्ष राजकुमार गुप्ताले प्रदेश नं २ को राजधानीको लागि जनकपुरभन्दा वीरगंज लाख गुणा ठीक रहेको बताए। 

‘संघीयतामा देशलाई लैजान वीरगंजले महत्वपूर्ण योगदान दिएको छ, त्यसैले वीरगंज नै राजधानी बन्नु पर्छ,’ उनले भने । सेवा सुविधा तथा भौतिक संरचनाको हिसाबले एवं आर्थिक गतिविधिले पनि वीरगंज शक्तिशाली र राजधानीको लागि ठिक रहेको चर्चा गर्दै प्रदेश सांसदले वीरगंजका भावनामा अघात पुर्याउन नपर्ने आग्रह गरे। 

‘वीरगंज सफाईको मामिलामा पनि जनकपुरभन्दा सुन्दर छ, जनकपुरमा वीरगंज भन्दा महँगीछ,’ केन्द्रीय अध्यक्ष तात्वाले भने, ‘तपाई हेर्नु भएको होला, प्रदेश सभा तोकिएको स्थल वरपर कस्तो प्रदुषण छ, जनकपुर राजधानी बनाइयो भने आठ जिल्लाकै जनतालाई धेरै दृष्टिकोणबाट झण्झट तथा सास्ती खेप्नु पर्छ।’

उनले थप्दै भने, ‘जनकपुरमा रामजानकी मन्दिर र फोहोर बाहेक अरु के छ,राजधानीको लागि पहिले जनकपुर तयार हुनुपर्छ अनि राजधानी बनाउने हो?’ त्यसैले हामीले अहिले नै संचेत भएर राजधानीको लागि जागरुग भई प्रदेश सांसदलाई दवाव दिनु जरुरी रहेको बताए। ‘सडक, होटल, शिक्षा, भाषालगायत सेवा सुविधाको हिसाबले वीरगंज बेटर छ, राजधानी पनि यही बन्नु पर्छ,’ उनले माग गरे।

वीरगंज राजधानी बनाउन दवाव दिन पुस २१ गते देखि शुरु भएको रिले अनशनको बीचमा माघ ४ गते र माघ २१ गते दुई दिन वीरगंज बन्द पनि भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell