PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

१० वर्षपछि चमेलिया जलविद्युत आयोजना पूरा: सात नम्बर प्रदेशको विकासको ढोका खुल्यो : प्रम देउवा



अमर बडुवाल

१० वर्षपछि चमेलिया जलविद्युत आयोजना पूरा: सात नम्बर प्रदेशको विकासको ढोका खुल्यो : प्रम देउवा

बलाँच (दार्चुला) : बैतडी र दार्चुलाको सीमामा पर्ने बलाँचमा १० वर्षअघि सुरु गरिएको चमेलिया जलविद्युत आयोजना सम्पन्न भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार यसको उद्घाटन गरेका छन्। 
 
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले समग्र सात नं प्रदेशको विकासको ढोका चमेलियाले खोलेको बताए। उनले त्यस क्षेत्रमा जलविद्युतको संभावना प्रसस्त रहेको भन्दै स्थानीय व्यवसायीले पनि जलविद्युतमा लगानी बढाउनु पर्ने बताए। 

'मैले सुरु गरेको जलविद्युत आयोजनाको उद्घाटन गर्ने अवसर मैले नै पाएँ। यस्तो अवसर थोरैले मात्रै पाउँछन्,' उनले भने, 'अब सम्पूर्ण देश विकासका काममा समर्पित हुनुपर्छ। यो क्षेत्रले पनि विकासका कामलाई प्राथमिकता दिनुपर्छ।'
 
सात नं प्रदेशमा २० हजार मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको पनि बताए। अहिले नै त्यस क्षेत्रमा २५० मेगावाट भन्दा धेरै क्षमताका आयोजना निर्माणाधीन रहेको देउवाले उल्लेख गरे।
 
कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लामो प्रसारण लाइन र भेरिएसन लगायतका कारण आयोजना केही महँगो जस्तो देखिएको बताए।

'आयोजनाको लागत १५ अर्ब खर्च भए पनि ६ अर्ब १८ करोड रुपैयाँ प्रसारण लाइन र अन्य प्रशासनिक खर्च भएकाले उत्पादन खर्च ९ अर्ब पनि भएको छैन। अन्य आयोजना बनाउन बाटो खुलेकाले कठिन भुगोलमा आयोजना बन्नु सबैभन्दा ठूलो कुरा हो,' उनले भने।

२०६४ सालदेखि  निर्माण सुरु भएको आयोजना ८ अर्ब रुपैयाँ लागतमा बन्ने भनिए पनि समयमै निर्माण सम्पन्न गर्न नसक्दा १५ अर्ब रुपैयाँ भन्दा बढी पुगेको हो। आयोजना प्रमुख अजय दाहालका अनुसार पुस २८ गतेदेखि यसको एउटा युनिटबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। यस जलविद्युत आयोजनामा १५ मेगावाटका दुई वटा युनिट छन्। 
 
आयोजनाबाट वार्षिक १८ करोड ४२ लाख १० हजार युनिट विद्युत उत्पादन हुन्छ। आयोजना नबन्दा प्राधिकरणलाई वार्षिक डेड अर्ब रुपैयाँ घाटा भइरहेको थियो। प्राधिकरणको उपभोक्ता महशुल औसतमा ८ रुपैयाँ ६० पैसा छ। यसका आधारमा एकातर्फ प्राधिकरणले आयोजनाबाट वार्षिक रुपमा १ अर्ब ५८ करोड ४२ लाख रुपैयाँ गुमाइरहेको थियो।

सुरुमा २०६८ वैशाखमा आयोजनाको काम सक्ने लक्ष्य राखिएको थियो। समयमा काम सम्पन्न नहुँदा आयोजना निर्धारित समयभन्दा ६ वर्ष ढिलो गरी सम्पन्न भएको हो।  
 
आयोजनाको बाँध, विद्युत गृह, सुरुङलगायत सिभिल संरचना निर्माण गर्न चिनियाँ कम्पनी सिजिजिसीसित सुरुमा २ अर्ब ८८ करोड १३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, सम्झौताको फितलो कार्यान्वयन, कमजोर भू–बनोटलगायतले आयोजनाको सिभिलतर्फको लागत ५ अर्ब ४२ करोड ७४ लाख रुपैयाँ पुगेको छ।
  
आयोजनाको हालसम्मको यथार्थ खर्च एवं निर्णय प्रकृयामा रहेका विभिन्न ठेक्कासँग सम्बन्धित भेरिएन क्लेमसमेत गरी आयोजनाको कूल लागत करिब १५ अर्ब रुपैयाँ अनुमान गरिएको छ। यसमध्ये विद्युत गृहतर्फको जग्गा खरिद, सिभिल निर्माण र इलेक्ट्रोमेकानिकल तथा हाइड्रोमेकानिकल कार्यका लागि करिब ७ अर्ब ८४ करोड एवं परामर्श सेवातर्फ करिब ६० करोड गरि जम्मा ८ अर्ब ४४ करोड खर्च भएको छ।
 
चमेलियाको बत्ती राष्ट्रिय प्रसारण लाइनमा जोड्न १ सय ३१ किलोमिटर लामो बलाँच–अत्तरिया प्रसारण लाइन निर्माण गरिएको छ। यो प्रसारण लाइन निर्माणमा २ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ। यस्तै प्राधिरकणले १३२ र ३३ केभी तथा ३३ र ११ केभी सब स्टेसन निर्माण तथा ३३ र ११ केभी प्रसारण लाइन निर्माणमा १९ करोड ४८ लाख रुपैयाँ खर्च गरेको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell