
काठमाडौंः प्रदेश ७ को सभामुखमा एमाले सांसद अर्जुनबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। सभामुखको लागि तोकिएको समय अवधिमा थापा बाहेक अरुको उम्मेदवारी परेनन्।
थापा बझाङबाट निर्वाचित हुन्। सभामुखको मनोनयनको लागि प्रदेशसभा सचिवालयमा आज दिउँसो १ बजेदेखि ५ बजेसम्म समय तोकेको थियो। सभामुखमा डोटीकी समानुपातिक प्रणाली तर्फबाट निर्वाचित पूर्णा जोशी र डडेल्धुराबाट निर्वाचित पठान सिँह बोहोराको दाबी रहेको थियो।
मनोनयनको लागि तोकिएको समय अवधिमा उनीहरुको मनोनयन परेन। उनी निर्वाचित भएको घोषणा माघ २९ गते बस्ने प्रदेश सभा बैठकले गर्ने छ।
प्रदेश ७ मा मुख्यमन्त्री माओवादी र सभामुख एमालेको भागमा परेको छ। वाम गठबन्धनको स्पष्ट बहुमत रहेको यस प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादीले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई सिफारिस गरेको छ।