PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

वाम एकताको राजनीति तरङ्गित पार्ने प्रचण्डको अभिव्यक्ति : 'फड्को मार्न सक्छु'



पहिलोपोस्ट

वाम एकताको राजनीति तरङ्गित पार्ने प्रचण्डको अभिव्यक्ति : 'फड्को मार्न सक्छु'

भरतपुर : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणकै प्रक्रियामा थप आशंका पैदा गर्ने अभिव्यक्ति दिएका छन्। आज एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, 'म अहिले जुन किसिमले हिँडेको छु, यसबाट देश र जनतालाई फाइदा पुग्ने लागेन भने म फड्को मार्न सक्छु ।' 

नेकपा एमालेसँग पार्टी एकीकरणको विषय टुंगोमा पुगिनसकेको अवस्थामा प्रचण्डबाट आएको यस्तो अभिव्यक्तिले बहुअर्थ दिँदै राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ।  

नेपाली कांग्रेससँगको सत्ता साझेदारीबाट फड्को मारेर नेकपा एमालेसँग एकतासहितको नारा लिएर चुनावी सहकार्यमा प्रचण्ड नेतृत्वको माओवादी अग्रसर भएको थियो। र, अझै पनि एकताका पक्षमा दुवै दलका नेताबाट अभिव्यक्ति आइरहेकै छ। 

'मेरो मुख्य उद्देश्य समुन्नत र समृद्ध नेपालको निर्माण हो,' फड्को मार्न सक्ने भन्दै राजनीतिलाई तरङ्गित पारेका उनले भने, 'शान्तिपूर्ण र समृद्ध नेपालका लागि नै मैले आफ्नो जीवन समर्पित गरेको छु।' 

चितवनको भरतपुरस्थित तीनखोले महाबौद्ध गुम्बाको उद्घाटनमा प्रचण्डले देश र जनताको हितका लागि जस्तोसुकै भूमिका खेल्न समेत तयार रहेको बताएका हुन्। 

समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीति संकटबाट देशलाई निकास दिन मियोकारुपमा भूमिका खेल्दै आएको बताएका थिए। राजनीतिमा आफ्नो कुनै स्वार्थ नभएको बताउँदै प्रचण्डले देश संकटमा परेको बेला सबै समूह, शक्तिबीचको तिक्तता र विवादलाई साम्य गरी निकासतर्फ अघि बढाउने भूमिका खेलेको स्मरण गरे।  

पार्टी एकताको विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दुई दिनअघि तीन घन्टा लामो छलफलबाट पनि कुनै निकास निकाल्न असफल प्रचण्डले चितवन पुगेर नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको स्मरण गरे। 

'मेरो भूमिका देखेर नै होला, गिरिजाप्रसाद कोइरालाले मलाई अब देश तपाईको काँधमा छ भनेर अस्पतालको सैय्याबाट भन्नुभएको थियो,' उनले भने, 'मेरो भूमिका सधैं सबैलाई मिलाउने, अप्ठ्यारो परेको बेला गाँठो फुकाउने र जनतालाई अधिकार सम्पन्न बनाउने रहँदै आयो। अहिले पनि यही भूमिकामा छु । भोलिका दिनमा समृद्ध नेपालका लागि जस्तोसुकै भूमिका खेल्न पनि म तयार छु।'

अध्यक्ष प्रचण्डले संविधान निर्माणको बेलाको जटिलता सुल्ट्याउन प्रतिपक्षको भूमिका छोडेर मियोको रुपमा काम गरेको, संविधान निर्माण र  कार्यान्वयनका बेला बिभिन्न पार्टी र समूहबीच तिक्तता घटाउन सक्रिय रहेको बताए। 'इतिहासमा मेरो भूमिका राजनीतिक शक्तिदेखि विभिन्न सामाजिक, सांस्कृतिक भौगौलिक जातजाति, समूह वर्गका बीचका विवादलाई साम्य पार्ने मियोको रुपमा रहँदै आएको छ,' उनले भने, 'अहिले पनि म सबैको भूमिकाको मूल्यांकन गर्दै समृद्धिको यात्राको संकल्प बोकेर अघि बढेको छु।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell