PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

सिमरा गोल्डकप : आयोजक नव जनजागृतीलाई हराउँदै मोरङ सेमिफाइनलमा



राधेश्याम पटेल

सिमरा गोल्डकप : आयोजक नव जनजागृतीलाई हराउँदै मोरङ सेमिफाइनलमा

वीरगंज : आयोजक नव जनजागृती यूवा क्लबलाई टाइव्रेकरमा पराजित गर्दै मोरङ फुटबल क्लब, विराटनगर सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिवार भएको पहिलो क्वाटर फाईनलमा आयोजकविरुद्ध टाईव्रेकरमा ४–१ को जित निकाल्दै मोरङ पहिलो सहभागितामै प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भयो।

टाईव्रेकरमा मोरङका निरज बस्नेत, बुद्धिमान राई, विक्रम लिम्बु र दिपक राईले गोल गरे भने आयोजक नव जनजागृतीका विजय श्रेष्ठ बाहेक अन्य खेलाडीले गोल गर्न सकेनन्। आयोजकका मानबहादुर तामाङ र शौरभ मगरको प्रहारले पोष्टको दिशा लिन नसक्दा घरेलु समर्थकका माझ आयोजक निराश बन्यो।

निर्धारित ९० मिनटको खेल एक–एकको बराबरीमा सकिएपछि खेल टाईव्रेकरमा धकेलिएको थियो। समय अभावका कारण अतिरिक्त समयको खेल नगराई सिधै टाईव्रेकरबाट नतिजा निकालिएको हो।

यसअघि खेलको ६५औं मिनटमा नव जनजागृतीका विजय श्रेष्ठ र ७५ औं मिनटमा मोरङका भुवन बस्नेतले एक-एक गोल गरेका थिए।

६५औं मिनटमा अफ्रिकी खेलाडी भिक्टरको प्रहार मोरङका डिफेन्डर सुरेन खवासले बचाउ गर्दा रिवाउण्ड बललाई आयोजकका विजय श्रेष्ठले गोलमा परिणत गर्दै अग्रता दिलाएका थिए।

७५ औं मिनटमा योगेश गुरुङको पास सदुपयोग गर्दै भूवन बस्नेतले बराबरी गोल गरे।

खेलको म्यान अफ दि म्याच नव जनजागृतीका सुरजसिंह ठकुरी घोषित भए।

घरेलु मैदानमा पराजय बेहोर्दै प्रतियोगिताबाट बाहिरीएको आयोजकका प्रशिक्षक नविन महर्जनले खेलाडीको तालमेल नमिल्दा हार बेहोर्नुपरेको बताए। अग्रता जोगाउन नसक्नु ठुलो दुर्भाग्य रहेको बताउँदै टाईव्रेकरमा टिमलाई लकले साथ नदिएको उनले बताए।

मोरङका प्रशिक्षक पारश चौधरीले आफ्नो टिमले जितेपनि खेलाडीको प्रदर्शन चित्त बुझ्दो नभएको बताए। फिनिसिङमा चुक्दा जितका लागि टाईव्रेकरमा पुग्नुपरेको भन्दै सेमी फाईनलमा सुधारिएको खेल पस्कने प्रतिकृया दिए।

मोरङले अब सोमबार हुने थ्रीस्टार र सुदूर पश्चिम-११ बीचको विजेतासंग फाईनल प्रवेशका लागि खेल्ने छ।

आइतवार त्रिभूवन आर्मी क्लब र सशस्त्र प्रहरीको नेपाल एपीएफ क्लबबीच दोश्रो क्वाटर फाईनल खेल हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell