
काठमाडौँ: संघीय संरचनामा पहिलोपटक बनेका प्रादेशिक संरचनामा सात प्रदेशका मुख्यमन्त्री निश्चित भएका छन्। यी प्रदेशमा बहुमतप्राप्त दल तथा गठबन्धनको संसदीय दलका नेता चयन भइसकेका छन्। संसदीय दलका नेता नै मुख्यमन्त्री चयन हुने संवैधानिक व्यवस्था छ।
संविधानको प्रावधान अनुसार बहुमतप्राप्त दलको संसदीय दलको नेता नै प्रदेशको मुख्यमन्त्री हुनेछन्।
मुख्यमन्त्री चयनका लागि प्रदेश प्रमुखले औपचारिक रुपमा आह्वान गर्नुपर्नेछ। कुनै पनि दलले बहुमत पाउन नसकेमा एकभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलको नेता मुख्यमन्त्रीमा चयन हुनेछन्।
प्रदेश १ र ३ मा एमालेको एकल बहुमत भएका कारण पहिलो चरणमा नै सरकार गठन हुनेछ। प्रदेश १ मा एमालेका शेरधन राई र प्रदेश ३ मा डोरमणि पौडेल संसदीय दलको नेता चयन भएका छन्। संविधान अनुसार राई र पौडेल नै मुख्यमन्त्री हुनेछन्।
प्रदेश २ मा संघीय समाजवादी फोरम र राजपाबीच भएको सहमति अनुसार फोरमका लालबाबु राउत मुख्यमन्त्री बन्ने निश्चित भएको छ। राउत संसदीय दलको नेता चयन भइसकेका छन्।
वाम गठबन्धनको सहमति अनुसार प्रदेश ४ को मुख्यमन्त्री एमालेको भागमा परेको छ। आइतबार एमाले संसदीय दलको नेतामा पृथ्वी सुब्बा गुरुङ चयन भए।
प्रदेश ५ मा मुख्यमन्त्री चयनको प्रक्रिया आइतबारदेखि सुरु हुँदैछ। प्रदेश ५ मा एमालेका शंकर पोखरेल संसदीय दलको नेतामा चयन भइसकेका छन्। पोखरेल मुख्यमन्त्रीको एकमात्र दाबेदार थिए। माओवादीको समर्थनमा पोखरेल मुख्यमन्त्री बन्नेछन्।
वाम गठबन्धनको सहमति अनुसार प्रदेश ६ र ७ को मुख्यमन्त्री माओवादी केन्द्रले पाएको छ। प्रदेश ६ मा महेन्द्रबहादुर शाही र ७ मा त्रिलोचन भट्ट संसदीय दलको नेतामा चयन भएका छन्। संविधान अनुसार शाही र भट्ट नै मुख्यमन्त्री हुनेछन्। शाही र भट्ट एमालेको समर्थनमा मुख्यमन्त्री बन्नेछन्।
प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले भने कुनै पनि प्रदेशमा सरकार बनाउने छैन। अंकगणित र गठबन्धनका कारण कांग्रेस मुख्यमन्त्रीविहीन भएको हो।