PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

मुख्यमन्त्री चयनः शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्न औपचारिक पत्र दर्ता गरिँदै



चन्द्रकान्त खनाल

मुख्यमन्त्री चयनः शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्ति गर्न औपचारिक पत्र दर्ता गरिँदै
तस्वीर : फाइल

रुपन्देहीः प्रदेश नं ५ का एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गरिने भएको छ। एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले माओवादीका कारण मुख्यमन्त्री चयनमा ढिलाइ भए पनि आज प्रदेश सरकारका लागि वाम गठबन्धनका तर्फबाट दाबी पेश गर्ने बताए। माओवादीले संसदीय दलको नेता चयन नगरेका कारण सरकार गठनमा केही ढिलाइ भएको हो।

सरकार गठनको तयारीका लागि शुक्रबारदेखि एमाले प्रदेश इन्चार्ज विष्णु पौडेल र संसदीय दलका नेता पोखरेललगायत छलफलमा जुटेका छन्। मन्त्रिपरिषदका अन्य सदस्यको नाम पनि उनीहरुले टुंगो लगाएका छन्।

माओवादीसित औपचारिक छलफल नहुँदासम्म नाम सार्वजनिक नगर्ने प्रदेश संयोजक पौडेलले बताए। भूगोल, समुदाय र अनुभवलाई आधार मानेर सरकार गठन हुने पौडेलले बताए।

दुई दलबीचको औपचारिक छलफल र निर्णयका लागि माओवादी केन्द्रका प्रदेश इन्चार्ज वर्षमान पुन र नेता टोपबहादुर रायमाझी नेता चन्द्रप्रकाश खनाल परामर्शमा रहेको बताइएको छ। एमालेको तयारीसँगै माओवादी केन्द्रले पनि आइतबारको बैठकबाट संसदीय दलको नेतामा कुलप्रसाद केसीलाई चयन गर्ने औपचारिक निर्णय गर्ने माओवादी केन्द्रका नेता सुदर्शन बरालले बताए।

यसैबीच एमालेले मुख्यमन्त्रीको नियुक्ति र सरकार गठनका विषयमा प्रदेश प्रमुख उमाकान्त झासँग परामर्श गरेको छ। परामर्शमा एमाले नेता पौडेल र संसदीय दलका नेता पोखरेल सहभागी थिए। मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम डिभिजन सडक कार्यालय परिसरको खुला चौरमा गर्ने तयारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell