PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश ४ को एमाले संसदीय दलमा सहमति हुन सकेनः ओली गुट र वामदेव गुटबीच भिडन्त हुने



नरहरि पौड्याल

प्रदेश ४ को एमाले संसदीय दलमा सहमति हुन सकेनः ओली गुट र वामदेव गुटबीच भिडन्त हुने

पोखराः प्रदेश नम्बर ४ को मुख्यमन्त्री सहमतिमा चुन्ने एमालेको प्रयास असफल भएको छ। आज बिहान आयोजित पार्टीको बैठकमा एमाले नेताहरुले गरेको सहमतिको प्रयास सफल हुन सकेन्। 

मुख्यमन्त्रीका प्रमुख दावेदार लमजुङका एमाले नेता पृथ्वी सुब्वा गुरुङ र तनहँुका किरण गुरुङलाई सँगै राखेर एमाले कार्यालय कास्कीमा भएको बैठकमा दुवै नेता टसमस नभएपछि निर्वाचन प्रक्रियाबाट मुख्यमन्त्रीको टुंगाो लगाउने निर्णयमा एमाले पुगेको हो। अब निर्वाचनबाट संसदीय दलको नेता चयन हुने एमालेले बताएको छ।

संसदीय दलका नेता चयनका लागि पार्टी कार्यालयमा ४ बजे मतदान हुने भएको छ। 

दलको नेतामा पार्टी सचिव पृथ्वीसुब्बा गुरुङ र प्रदेश संयोजक किरण गुरुङद्वयबीच प्रतिस्पर्धा हुँदैछ।
सहमतिको सम्भावना नरहेकाले निर्वाचनबाट छिनोफानो हुने प्रत्याशी किरण गुरुङले बताए। 

एमाले स्रोतका अनुसार केपी ओली निकट रहेका सचिव गुरूङको सम्भावना बलियो भएपनि किरण गुरूङले पनि अन्तिम समयसम्म आफू नै मुख्य मन्त्री बन्ने बताउँदै आएको छन्। उनी बामदेव गौतमका विश्वासपात्र मानिन्छन्।

प्रदेशसभा सदस्यहरूको सपथ र राष्ट्रिय सभाको निर्वाचनसमेत सम्पन्न भएपछि एमालेका दुवै नेताले मुख्यमन्त्री पदमा आ–आफ्नो दाबी गर्दै आएका थिए। गुरूङद्वयले प्रदेशसभा निर्वाचनको प्रचारदेखि नै मतदातामाझ आफू प्रदेशको मुख्यमन्त्री बन्ने दाबीसहित मत मागेका थिए।

प्रदेश ४ मा ३६ प्रत्यक्ष र २४ समानुपातिक गरी ६० सांसद छन्। जसमध्ये मनाङबाट एमालेको सहयोगमा निर्वा्चित राजीव गुरूङ ‘दीपक मनाङे’ सर्वोच्च अदालतको आदेशपछि फरार छन्।

पृथ्वीभन्दा आफू पार्टीमा सिनियर भएको भन्दै उनले लामो समयदेखि गण्डकी–धौलागिरी अञ्चलमा पार्टीको नेतृत्व गरेको र अहिले पनि ४ नम्बर प्रदेशको संयोजक भएको नाताले आफ्नो विकल्प नभएको बताउँदै आएका छन्। अर्का दाबेदार पृथ्वीसुब्बा गुरुङले पार्टी अध्यक्ष ओलीले चुनावअघि नै आफूलाई मुख्यमन्त्री बनाउने बताएको दाबी गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell