
नेपालगन्ज : नेपाली खेलकुदको प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलले मिस नेपाललाई सद्भावना दुत अनुबन्धित गरेको छ। मिस नेपाल वर्ल्ड निकिता चान्दक प्रधानमन्त्री कपको पाँचौं संस्करणमा सद्भावना दुत नियुक्त भएकी हुन्।
प्रधानमन्त्री कप आयोजक बाँके जिल्ला भलिबल संघले मिस नेपाल आयोजक हिडेन ट्रेजरसँग सहकार्य गर्ने सिलसिलामा सद्भावना दुत सम्बन्धी सम्झौता गरेको छ। बाँके भलिबल संघका अध्यक्ष टीएस ठकुरी र हिडेन ट्रेजरका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। ‘नेपालको राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनमा हामीले गरेको प्रस्तावमा हिडेन ट्रेजर टिमले सहर्ष स्वीकार गर्नुभयो, यसप्रति हामी आभार प्रकट गर्दछौं।’ बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले भने, ‘महिला सशक्तीकरणमा प्रभावकारी भुमिका निर्वाह गर्दै आएको हिडेन ट्रेजर र प्रधानमन्त्री कपले पनि महिला सशक्तीकरणमा काम गर्दै आएकोमा हाम्रो उद्देश्य मिल्न गयो, र सहकार्य साझेदारी गर्दै अघि बढ्ने सोंच बनाएका हौं।’
प्रधानमन्त्री कपका हरेक संस्करणमा मिस नेपाल नै सद्भावना दुत हुने बाँके जिल्ला भलिबल संघले जनाएको छ। सद्भावना दुत नियुक्त भइसकेपछि मिस नेपालले राष्ट्रिय खेल तथा प्रधानमन्त्री कपको प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ।
प्रधानमन्त्री कपको उद्घाटनदेखि समापनमा मिस नेपाल उपस्थित रहने आयोजकले जनाएको छ। ‘यस वर्ष उहाँ(निकिता)को कार्यव्यस्तताका कारण प्रतियोगिता अघि केही औपचारिक कार्यक्रम र प्रवद्र्धनात्मक कार्य गर्न सकिएन, तर प्रतियोगिताको उदघाटन लगायत कार्यक्रममा उहाँले समय व्यवस्थापन गर्नुहुनेछ।’ अध्यक्ष ठकुरीले भने, ‘आगामी दिनमा समयमै मिस नेपालको समय व्यवस्थापन गरेर अघि बढ्नेछौं।’
खेल प्रतियोगितामा सद्भावना दुत नियुक्त गर्ने संस्कार प्रधानमन्त्री कपले नै थालेको हो। पहिलो पटक दुइ वर्ष अघि चर्चित अभिनेत्री रेखा थापालाई प्रधानमन्त्री कपको तेस्रो संस्करणमा सद्भावना दुत अनुबन्धित गरिएको थियो। त्यसपछि गत वर्ष आयोजक बाँके जिल्ला भलिबल संघले राष्ट्रिय क्रिकेटर नेपालगन्ज निवासी महेश क्षेत्रीलाई अनुबन्धित गरेको थियो।
फागुन पहिलो साता नेपालगन्जमा सञ्चालन हुने प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको पाँचौ संस्करणमा तीन देशका टिमले प्रतिस्पर्धा गर्ने भएका छन। लिगकम नकआउटका आधारमा फागुन ३ देखी ७ गते सम्म हुने प्रतियोगितामा आयोजक टिमसँगै नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल टिम पोखरा, देहरादुन(भारत) र बंगलादेशी क्लबले खेल्नेछन।
प्रतियोगिताको विजेताले २ लाख रुपैया, उपविजेताले १ लाख र तेस्रोले ५० हजार रुपैया पुरस्कार पाउनेछन।