चितवन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्र र जनताको आवश्यकतानुसार आफूले जस्तोसुकै राजनीतिक निर्णय लिन पनि सक्ने बताएका छन्।
प्रकाश दाहाल स्मृति राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले अहिलेको सन्दर्भमा आफूले अघि सारेको यो भनाइको अर्को राजनीतिक अर्थ नलगाउन पनि आग्रह गरे।
अध्यक्ष दाहालले शनिबार भरतपुरमा आयोजित एक कार्यक्रममा देशको हित नहुने भएमा आफूले फड्को हान्ने बताएका थिए। नेकपा (एमाले) र माओवादी केन्द्रबीच पार्टी एकताको बैठक चलिरहँदा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया बाहिर आउँदा राजनीतिक माहोल गर्माएको थियो।
दुई पार्टी एकीकरणका सन्दर्भमा उनले भने, “म काठमाडौँ गएपछि कुराकानी हुन्छ। मेरो चाहना छ दुई तीन दिनभित्र टुंगियोस्, यो कुरा नलम्बियोस्। पार्टी एकीकरण लम्बिएलाजस्तो भन्दा पनि टुंगिएलाजस्तो मैले देखिरहेको छु।”
खेलकुद प्रतियोगिताअन्तर्गतको चौथो मुवा थाई तथा बृहत् तेक्वान्दो प्रतियोगिताको उनले उद्घाटन गरेका हुन्।