काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभामा पाएको एक सय २१ सिटमा जम्मा दश जना मधेशी पर्ने भएका छन्। प्रत्यक्षतर्फको ८० सीटमध्ये एमालेबाट चार जना मात्र मधेशी उम्मेदवार विजयी भए भने समानुपातिक तर्फको ४१ सीटमा छ जनाको नाम टुंगो लागेको छ।
प्रत्यक्षतर्फबाट लालबाबु पण्डित र रघुवीर महासेठ विजयी भएका थिए भने राष्ट्रिय जनता पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हृदयेश त्रिपाठी र बृजेश गुप्ताले पनि जित हासिल गरेका थिए।
आइतबार एमालेले प्रतिनिधिसभातर्फ समानुपातिकको अन्तिम सूची निर्वाचन आयोगलाई बुझाउँदा जम्मा ६ जना मधेशीको नाम परेको हो।
मधेशी पुरुषबाट उद्योगी मोतीलाल दुगडको नाम राखिएको छ। उनी मारवाडी समुदायका हुन्।
जुली कुमारी महतो, पुष्पा कुमारी कर्ण, सरला कुमारी यादव, रेखा कुमारी झा र सरिता कुमारी गिरी समानुपातिकको सिफारिसमा परेका छन्।
एमालेले अन्तिम नामावली पठाए पनि निर्वाचन आयोगले अन्तिम निर्णय गर्न बाँकी छ।
एमालेले पठाएको समानुपातिक सूचीमा परेकी जुली कुमारी महतो एमालेकै निर्वाचित प्रतिनिधि सभा सदस्य रघुवीर महासेठकी पत्नी हुन्। उनी उद्योगी उपेन्द्र महतोकी बहिनी पनि हुन्।