काठमाडौं: अभिनेता विपिन कार्कीको जस्तै कपाल बनाउनेले पुरस्कार पाउने भएका छन्। फिल्म 'नाका' युनिटले प्रचार प्रसारका लागि उक्त स्किम सुरु गरेको हो। फिल्मको ट्रेलर सार्वजनिक छ। ट्रेलरमा देखिएको विपिन कार्कीको नयाँ अवतारको निकै चर्चा भयो। यसैबिच कार्कीको उक्त लुक्सलाई नै फिल्म युनिटले प्रचारको माध्यम बनाएको छ।
'गोल्डी हेयर स्टाइल फोटो कन्टेस्ट' सुरु भएको हो। गोल्डी पात्र (विपिन कार्की)को जस्तै कपाल काट्नेले फिल्म नाकाको फेसबुकमार्फत फोटो पठाउन पर्नेछ। प्रतियोगितामा हरेक उमेर समुहका सहभागी हुन पाउने छन्। अफिसियल पेजमा अपलोड भएको फोटोमा आउने लाइकको आधारमा विजेता घोषित हुनेछन्। विजेताले फिल्म नाकाको कलाकारसँग खाना खाने साथै अन्य पुरस्कार पाउने जनाइएको छ।
नाका क्षेत्रमा हुने तस्करी र जोडिएको गुण्डागिरीको कथा भन्ने फिल्म तातोपानी नाका र सिन्धुपाल्चोकमा छायांकन भएको छ। अमित श्रेष्ठले निर्देशन गरेको फिल्ममा विपिन कार्कीका साथमा थिन्ले लह्मो, रोविन तामाङ, सजन थापामगर, शिव मुखिया, प्रकाश गन्दर्भ लगायतका कलाकारको मुख्य भूमिका रहेको छ। निर्देशक श्रेष्ठको कथामा अभिषेक सुवेदीले पटकथा लेखेका छन्।