PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश १ को सभामुखमा भण्डारी निर्विरोध हुँदा महिला सांसद्को आपत्ति



अनन्तराज न्यौपाने

प्रदेश १ को सभामुखमा भण्डारी निर्विरोध हुँदा महिला सांसद्को आपत्ति

विराटनगर :  प्रदेश १–को सभामुखमा नेकपा एमालेका प्रदीप भण्डारी निर्विरोध निर्वाचित भएका छन्।  आइतबार प्रदेश सभा भवनमा भएको मनोनयन दाखिलामा भण्डारी एक्लैले नामाङ्कन पत्र दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
 
यसअघि एमालेको संसदीय दलको बैठकले भण्डारीलाई सभामुख पदका लागि चुनेको थियो ।

संसदीय दलका नेता शेरधन राईले भण्डारीलाई सभामुख पदका लागि सर्वसम्मतिले निर्णय गरिएको जानकारी दिए।

संसदीय दलका नेता राई पार्टीभित्र ओली समूहका हुन्। संसदीय दलमा सन्तुलन राख्न माधव नेपाल समूहका नेता प्रदीपलाई सभामुखका लागि चयन गरेको भनिएको छ।

सङ्खुवासभाको मादीमा २०१२ साउन २८ गते जन्मिएका भण्डारी २०२७ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय थिए। मनमोहन अधिकारी नेतृत्वको पार्टीबाट वामपन्थी राजनीतिमा क्रियाशील उनी पूर्व कोशी प्रान्तीय कमिटीमा आवद्ध थिए।

मदन भण्डारी नेतृत्वको नेकपा (माले) र मनमोहन नेतृत्वको नेकपा (माक्र्सवादी)–को एकीकरण २०४७ सालमा भएसँगै प्रदीप पनि एमालेमा संलग्न भए।

शिक्षण पेशाबाट २०७२ सालमा अवकाश ग्रहण गरेका उनले धरानको शिक्षा सदन माविमा ३७ वर्ष अध्यापन गरे ।

भण्डारी हाल एमाले सुनसरी जिल्ला कमिटीका सचिवालय सदस्य र धरान इन्चार्ज छन् । 

महिला सदस्यको आपत्ति

सभामुखमा एमालेले भण्डारीलाई चयन गरेसँगै प्रदेशका महिला सदस्यमा तीव्र असन्तुष्टि देखिएको छ । 

सांसद् उषाकला राईले सभामुख चयन गर्न आयोजित बैठकमा लोकतान्त्रिक मर्यादा र संस्कार कायम नभएको र एजेन्डाहरू छलफलमै नल्याई निर्णय सुनाएर बैठक सकिएको घोषणा गरिएको भन्दै आपत्ति प्रकट गरिन्।

सांसद् राई सभामुख पदका लागि एक बलियो दाबेदार थिइन् ।

‘बैठकमा महिला र दलितका विषयमा केही छलफल गर्न पाइएन, हामीले आफ्ना कुरा राख्नै पाएनौँ’, उषाकलाको भनाइ थियो, ‘हाम्रो सिनियर नेता सभामुखमा निर्विरोध निर्वाचित हुनुभयो, यसप्रति मेरो गुनासो होइन तर बैठकमा जुन विधि र प्रक्रिया संसदीय दलका नेताले अपनाउनु भयो त्यसप्रति मेरो गुनासो र असहमति छ ।’

राईका अनुसार नेता शेरधनले बैठकमा केही छलफल नै नगरी भण्डारीलाई सभामुखका लागि चयन गरिएको घोषणा गरेर बैठकको समापन गरेका थिए।

‘पार्टीभित्रको आन्तरिक लोकतन्त्र समाप्त हुने दिशामा गएको अनुभव भइरहेको छ’, उनको प्रश्न थियो, ‘संसदभित्र पनि हामीले लोकतान्त्रिक मर्यादा र संस्कार कायम राख्न सकेनौँ भने बाहिर कहाँ खोज्न जाने ?’

तपाईंले बैठकमा आफ्नो दाबी किन प्रस्तुत गर्नुभएन त ?

उषाकलाको उत्तर थियो, ‘प्रदीप कमरेडलाई सभामुख बनाउने निर्णय गरियो अब बैठक सकियो भनेर सबै उठिदिएपछि मेरो के लाग्यो ? मैले कहाँ कराउने ??’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell