काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू अन्तर्गत चौथो खेलमा नेपालले आज केन्यासँग खेल्दैछ। नेपाल ३ खेल खेल्दा १ मा जित र १ हारको नताज निकालेको छ भने केन्या खेलेको दुवै खेलमा पराजित भएको छ।
प्रतियोगितामा केन्याले दुवै खेलमा सय रनको स्कोर बनाउन सकेको छैन। नेपालको पनि ब्याटिङ सोचेअनुरुप चल्न सकेको छैन। यसअघिका दुवै खेल नेपालले जित्दा बलरहरुले नै उत्कृष्ट प्रदर्शन गरेका छन्।
आजको खेलको प्लेअर्स टु वाच
सोमपाल कामी (नेपाल)
नेपालको ओपनिङ बलर हुन् सोमपाल कामी। उनले आफ्नो पहिलो स्पेशमै विपक्षीको विकेट लिदै नेपाललाई सुखद सुरुवात दिलाउँदै आएका छन्।
सोमपालले पहिलो खेलमा नामिबिया विरुद्ध ३ विकेट लिएका थिए भने ओमान विरुद्धको दोस्रो खेलमा १ विकेट लिए। यस्तै तेस्रो खेलमा युएईलाई ११४ रनमा अलआउट गर्ने क्रममा सोमपालले ४ विकेट लिएका थिए। कूल ८ विकेट लिएका सोमपाल सर्वाधिक विकेट लिनेमा नेपालकै सन्दीप लामिछाने (९ विकेट) पछि ओमानका बिलाल खान र युएईका रोहन मुस्ताफासँगै संयुक्त रुपमा दोस्रो स्थानमा छन्।
युएई विरुद्धको जितमा ५ बल खेल्दै नटआउट १० रनको योगदान गरेका सोमपालले ब्याटिङमा पनि ४० रन बनाइसकेका छन्।
कोलिन्स ओबुया (केन्या)

केन्याले यस प्रतियोगितामा राम्रो ब्याटिङ गर्न सकिकरहेको छैन। ३६ वर्षीय ओबुया केन्याका अनुभवी अलराउण्डर हुन्। उनी २००१ देखि केन्याका लागि खेल्दै आएका छन्। नामिबियाले उनले अहिलेसम्म १७ रन मात्र बनाउन सकेका छन् भने २ विकेट लिएका छन्।
ओबुया केन्याको लागि वान डे मा सर्वाधिक रन बनाउनेमा तेस्रो स्थानमा छन्। उनले अहिलेसम्म २ हजार ४४ रन बनाएका छन्। यस्तै केन्याका लागि ३५ विकेट समेत लिएका छन्।
उनले सन् २००३ को वान डे वर्ल्ड कपमा श्रीलंका विरुद्ध ५ विकेट लिएका थिए।
