PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, एमालेको स्पष्ट बहुमत भए पछि आवश्यकै नपर्ने माओवादीको समर्थन पत्र बुझाइयो



अनन्तराज न्यौपाने

प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिमा ढिलाइ, एमालेको स्पष्ट बहुमत भए पछि आवश्यकै नपर्ने माओवादीको समर्थन पत्र बुझाइयो

विराटनगर : एमाले एक्लैको बहुमत भए पनि वाम गठबन्धनले प्रदेश १ मा सरकार गठनका लागि प्रदेश प्रमुखसमक्ष दाबी गरेको छ।

एमालेका प्रदेशसभा सांसद् जीवन घिमिरे र माओवादीका संसदीय दलका नेता टङ्क आङबुहाङले प्रदेशको मुख्यमन्त्री शेरधन राईलाई नियुक्त गर्न आग्रह गर्दै सोमबार प्रदेश कार्यालयका सचिव रामकृष्ण गुरागाईंलाई छुट्टाछुट्टै पत्र पेश गरेका हुन्।

‘एमालेका संसदीय दलका नेता शेरधन राईलाई माओवादीको समेत समर्थन रहेको औपचारिक पत्र दर्ता गराएका छौँ,’ एमाले नेता घिमिरेले जानकारी दिए, ‘२ गते प्रदेश प्रमुखको कार्यालयबाट मुख्यमन्त्रीको नियुक्ति गरिनेछ र ३ गते शपथ ग्रहण हुनेछ।’ 

माओवादी संसदीय दलका नेता आङबुहाङले नेता शेरधनलाई आफ्नो दलले समर्थन गरेको पत्र सचिव गुरागाईंसमक्ष बुझाएको बताए।  

दुवै दलले आआफ्नो संसदीय दलको नेता चयन गरेको विषय पनि औपचारिक पत्रमार्फत् प्रदेश कार्यालयलाई जानकारी दिएको आङबुहाङले उल्लेख गरे।

उपधारा १ बाट हुने काम २ बाट गरिँदै

नेपालको संविधानको धारा १६८ को उपधारा १ मा ‘प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुने’ उल्लेख छ।

प्रदेश नम्बर १ को प्रदेशसभामा एमालेको ५१, कांग्रेसको २१, माओवादीको १५, फोरमको ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १, राप्रपाको १ र स्वतन्त्र १ सदस्य रहेका छन्। ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ सदस्य आवश्यक भएकोमा एमाले एक्लैको ५१ सदस्य रहेकोले स्पष्ट बहुमत छ। 

यसै अनुसार बहुमत प्राप्त दलको सिफारिशमा संसदीय दलका नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान रहेको छ। एमालेको स्पष्ट बहुमत रहेको प्रदेश नम्बर ३ मा प्रदेश प्रमुख अनुराधा कोइरालाले आइतबार संविधानको धारा १६८ को उपधारा १ अनुसार नै एमालेको प्रदेश सभा संसदीय दलका नेता डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। 

प्रदेश १ मा भने संविधानको धारा १६८ को उपधारा (२) बमोजिम वाम गठबन्धनले प्रदेश कार्यालयमा सरकार गठन गर्न आग्रह गर्दै पत्र पेश गरेका हुन्। जबकि संविधानको प्रावधान अनुसार उपधारा १ बमोजिमको कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा मात्र उपधारा २ आकर्षित हुन्छ।  

प्रदेश ४ मा कुनै पनि दलको बहुमत नभएको अवस्थामा माओवादीको समर्थनमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङलाई सोमबार प्रदेश प्रमुख बाबुराम कुँवरले  संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरिसकेका छन्। 

सभामुखको शपथ सम्पन्न

यसैबीच प्रदेश १ का प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेश सभाका नवनिर्वाचित सभामुख प्रदीप भण्डारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्।

प्रदेश प्रमुखको सरकारी निवासमा भएको समारोहमा प्रमुख तुम्बाहाङले सभामुख भण्डारीलाई शपथ ग्रहण गराएका हुन्।

शपथ ग्रहणको १ घण्टापछि सभामुख भण्डारीले प्रदेश सभाको बैठक सञ्चालन गरेका थिए।

सभामुख भण्डारीले अर्को बैठक फागुन ३ गते गरिने र त्यस बैठकमा उपसभामुखको निर्वाचन गरिने जानकारी दिए।

वाम गठबन्धनको सहमतिअनुसार उपसभामुख माओवादी केन्द्रको भागमा परेको छ। सभामुख पुरुष भएपछि उपसभामुख महिला हुनैपर्ने संवैधानिक व्यवस्था छ। माओवादी केन्द्रले सरस्वती पोखरेल, उमिता बराइली र सीता थेवेमध्ये एकलाई उपसभामुख बनाउने सम्भावना रहेको छ। 

चार मन्त्रालयका कार्यालय खुले, तीन बाँकी

यसैबीच प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित चार मन्त्रालयको स्थापना गरिएको छ । 
अब तीन मन्त्रालय स्थापना गर्न बाँकी रहेको प्रदेशका प्रमुख सचिव यादवराज कोइरालाले बताए ।

प्रमुख कोइरालाका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको स्थापना भइसकेको छ।

अब आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयको स्थापना गर्न बाँकी छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell