
काठमाडौं : नामिबियामा भइरहेको डिभिजन टू अन्तर्गत नेपालले सोमवार केन्यालाई ३ विकेटले हराउँदै तेस्रो जित हात पारेको छ। ४ खेलबाट ६ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ।
नेपालको जितपछि केन्या र ओमान भने शीर्ष २ को होडबाट ओपचारिक रुपमै बाहिरिएको छ।
प्रतियोगितामा पहिलो हार बेहोरेको क्यानडा ४ खेलबाट ६ अंककासाथ शीर्ष स्थानमा छ। नामिबियासँग १६ रनले पराजित भएको क्यानडाको नेपालसँग समान अंक भएपनि रन रेटमा अगाडि रहेको हो।
यस्तै ४ खेलबाट ४ अंक जोडेको युएई तेस्रो स्थानमा छ भने ३ खेलबाट ४ अंक जोडेको घरेलु टोली नामिबिया चौथो स्थानमा छ।
४ खेलबाट २ अंक मात्र जोडेको ओमान पाँचौ स्थानमा छ भने लगातार ३ खेल हारेको केन्या अंकविहीन छ। अब ओमान र केन्याले बाँकी खेल जिते पनि क्यानडा र नेपाललाई भेट्टाउन सक्ने छैन।
डिभिजन टू को सिंगल राउण्ड रोविन सकिएपछि शीर्ष दुई स्थानमा रहने टोली अर्को महिना जिम्वावेमा हुने वान डे वर्ड कप क्वालिफायरका लागि छनोट हुनेछ। जहाँ आइसीसीका चार फूल मेम्बर राष्ट्रसँगै डब्लुसिएल च्याम्पियनसिपबाट गएका चार राष्ट्रले खेल्नेछ।
यस्तै डिभिजन टू को पाँचौ र छैटौँ स्थानमा रहने टोली डिभिजन थ्री मा झर्नेछन्। तेस्रो र चौथो हुने टोली डिभिजन टू मै यथावत रहनेछन्।