PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

घरमा पूजा छ भन्दै पुरोहितसहित ६ भारतीयलाई अपहरण गर्ने पाँच नेपाली पक्राउ



अनन्तराज न्यौपाने

घरमा पूजा छ भन्दै पुरोहितसहित ६ भारतीयलाई अपहरण गर्ने पाँच नेपाली पक्राउ

विराटनगर : घरमा पूजा छ भन्दै पुरोहित काम गर्ने एक भारतीयसहित ६ भारतीयलाई अपहरण गरेको अभियोगमा ५ नेपालीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इनरुवाका नारायण शाह र मधुकर शाहसहित मोरङ सुन्दरहरैँचा नगरपालिकाका टीकाराम चौधरी, कान्छा भन्ने ठाकुर गुरुङ र नवराज गौतम छन्।

उनीहरूले भारतको विहार राज्यअन्तर्गत खगडिया जिल्लाका राजकिशोर शाह, अजयकुमार शाह, अखिलेश शाह, दीनबन्धु तिवारी, बालेश्वर रजक र रञ्जितकुमारलाई अपहरण गरेर नेपाल ल्याएका थिए।

अपहरणमा बालेश्वर शाह, सुरेशकुमार, सन्तोषकुमार र सुसन यादव गरी ४ भारतीयको पनि संलग्नता रहेको मोरङ प्रहरी उपरीक्षक अरुणकुमार बिसीले बताए।

अपहरणमा पर्ने ६ जनामध्ये दीनबन्धु पेशाले पुरोहित हुन्। अपहरणकारीहरूले दीनबन्धुलाई पूजा गराइदिन जाऊँ भनेर तथा अन्यलाई नेपाल घुम्न जाऊँ भन्दै ल्याएको बिसीको भनाइ छ। 

अपहरणकारीले यही माघ २४ गते राति ९ बजे सीमावर्ती भारतीय बजार जोगबनीमा गाडी रिजर्भ गरेर ६ जनालाई नै मोरङको सुन्दर हरैँचा ल्याएका थिए। अपहरण गरिएकालाई उनीहरूले सुन्दर हरैँचास्थित होटल मोनालिसाको कोठा नं. १०१ र १०२ मा राखेका थिए।

अपहरणमा संलग्न भारतीय नागरिक बालेश्वरसहित ४ जनाले २५ गते बिहान नेपालतर्फका मतियार नारायण शाहसहित ५ जनाको जिम्मा लगाएका थिए। 

अपहरणमा पारी बन्धक बनाइएका ६ जनालाई नै नेपालतर्फका आफ्ना मतियारलाई जिम्मा लगाएपछि भारतीय अपहरणकारी फरार भएको प्रहरीको दाबी छ।

यसैबीच २५ गते अपराह्न ४ बजे बन्धक बनाइएकामध्ये राजकिशोर शाह होटलबाट भाग्न सफल भए। राजकिशोर आफ्ना भारतीय मित्रसाथ जिल्ला प्रहरी कार्यालय आई घटनाबारे जानकारी गराएको एसपी अरुणले बताए।

‘होटलमा थुनेर हामीलाई धेरै पिटे, जुत्ता र पेटीले मुखैमुखमा हिर्काए’, अपहरणमा पर्ने अखिलेशले जिल्ला प्रहरीमा पत्रकारलाई भने, ‘भारु ६ लाख नदिएसम्म छाड्दैनौँ भनेर यातना दिए । मेरो चेकबुक मसितै थियो। मैले मेरो खातामा ५ लाख छ । चेक काटिदिन्छु भन्दा पनि मानेनन् । हामीलाई कुटिरहे ।’

प्रहरीका अनुसार बन्धक बनाइएकामध्ये एक जना भाग्न सफल भएपछि उनीहरूले बाँकी रहेका ५ भारतीयलाई होटलबाट लगेर सुन्दर हरैँचाकै नारायण शाहका घरमा थुनेर राखेका थिए। प्रहरीले यही माघ २७ गते राति साढे ११ बजे ५ जनालाई अपहरणमुक्त गरेको थियो।

पक्राउ परेका अभियुक्तका साथबाट भारु ५० हजार, विभिन्न कम्पनीका ५ थान मोबाइल सेट र को १४ प ५२४४ नम्बरको मोटरसाइकल बरामद गरिएको छ। 

पाँचै अभियुक्तलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell