
वीरगंज : टाईव्रेकरमा सुदूरपश्चिम-११ विरुद्ध ४–२ को जित निकाल्दै थ्रिस्टार क्लब बाराको सिमरामा जारी नवौं रुस्लान सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमीफाईनलमा प्रवेश गरेको छ।
सुदूरपस्चिम-११ स्पोर्टस क्लब धनगढी विरुद्धको खेलको पहिलो हाफमा लिएको अग्रता जोगाउन नसक्दा जितका लागि थ्री स्टारले टाईव्रेकरसम्म संघर्ष गर्नुपर्यो।
टाईव्रेकरमा थ्री स्टारका रजिन धिमाल, बुद्ध चेम्जोङ, निराजन खड्का र सुनील वलले गोल गरे। सुदूरपश्चिमका नरेन्द्र चौधरी र राकेश हमालले गोल गर्दा जीवन चौधरीको प्रहार थ्री स्टारका गोलकिपर एलन न्यौपानेले बचाउ गरे। सुदूर पश्चिमका टिम क्याप्टेन चेतन थारुको प्रहार क्रसबारमा लागेर फर्कियो।
खेलको पहिलो हाफमा १–० ले पछि परेको सुदूरपश्चिममले खेलको ८७औं मिनटमा गोल गर्दै थ्री स्टारलाई निर्धारित समयमा बराबरीमा रोकेपनि टाईव्रेकर फलदायक नबन्दा पहिलो सहभागितामै सिमरा गोल्डकपको सेमिफाईनल पुग्ने अवसर गुमायो।
यसअघि खेलको पहिलो हाफमा निराजन खड्काको उत्कृष्ट पासलाई सदुपयोग गर्दै थ्री स्टारका विश्वास श्रेष्ठले टिमलाई अग्रता दिलाएका थिए।
पहिलो हाफमा आकर्षक अवसर बनाउन नसकेको सुदुरपश्चिमले दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेको थियो। दोश्रो हाफको शुरु देखिनै आक्रामक खेल खेलेको सुदुरपश्चिमले थुप्रै अवसर सिर्जना गरेपनि बराबरी गोल फर्काउन अन्तिम सम्म संघर्ष गर्यो।
खेलको ८७औं मिनटमा मणिराम चौधरीले पेनाल्टी एरियामा पाएको चेतन थारुको पास सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए।
खेलको म्यान अफ दि म्याच थ्री स्टारका गोल रक्षक एलन न्यौपाने घोषित भए।
प्रतियोगिताको अन्तिम क्वाटरफाईनलमा सोमबार साविक विजेता सिएमजी संकटा क्लब र वीरगंज यूनाईटेड क्लबबीच खेल हुने प्रतियोगिताका प्रेस संयोजक सुनील गाउँलेले जानकारी दिए।