
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रिलाई लक्षित गरी सवारी व्यवस्थापनका वैकल्पिक रुटहरुको व्यवस्था गरेको छ। महाशाखाले पशुपतिनाथ तथा आसपासका क्षेत्रहरु सवारी निषेध गरेको छ। नियमित रुटको सट्टा वैकल्पिक रुटको व्यवस्था गरेको हो।
महाशाखाको अनुसार चावहिल मित्रपार्क हुँदै गौशाला, तथा पुरानो बानेश्वरबाट बत्तीसपुतली हुँदै गौशलासम्मको रुपमा सवारी रोक लगाएको छ।
यस्तै, तीनकुनेबाट सिनामंगल हुँदै एयरपोर्टतर्फका सवारीसाधनलाई पनि रोक लगाइएको छ। सिनामंगल पुलको करिडोरबाट होटल महाराजा निकस्ने तथा जोरपाटी बौद्धतर्फबाट आउने सवारीलाई पनि रोक लगाइएको छ।
वैकल्पिक रुटको व्यवस्था
पशुपति क्षेत्र तथा गौशालाको नियमित रुट प्रयोग गर्ने सवारीले आज उक्त रुट पूर्ण रुपमा प्रयोग गर्न पाउने छैनन्। पुरानो बसपार्क, बानेश्वर, तीनकुने तथा सिनामंगलसम्म पुगेर सोही रुटबाट पुरानो बसपार्क नै फर्कनु पर्ने व्यवस्था महाशाखाले गरेको छ।
यस्तै, पुरानो बसपार्कबाट गौशाला हुँदै साँखुसम्म पुग्ने सवारीका लागि चक्रपथ नारायणगोपाल चोक हुँदै चावहिल साँखुसम्म पुगेर सोही रुटबाट फर्कने व्यवस्था मिलाइएको छ।
महाशाखाले पशुपतिमा शिवरात्रिको दर्शनका क्रममा पुग्ने भक्तजनका लागि पनि फरक फरक स्थानमा पार्किङको व्यवस्था गरेको छ।