PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने दुई 'बाबा'सहित ४१ पक्राउ



पहिलोपोस्ट

शिवरात्रिमा लागूपदार्थ सेवन गर्ने दुई 'बाबा'सहित ४१ पक्राउ

काठमाडौं: महाशिवरात्रिमा प्रतिवन्धित लागूपदार्थ सेवन गरी होहल्ला गर्ने तथा विक्री वितरण गर्ने ४१ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले ३९ जना गाँजा सेवन गर्ने युवक र २ जना जोगी बाबालाई नियन्त्रणमा लिएको छ।

पशुपति क्षेत्रमा भीड हुने भएकाले सम्भावित चोरी, लुट्पाट लगायतका गतिविधि नियन्त्रण गर्न  चार हजार तीन सय प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए।

'शिवरात्रिका लागि आवश्यक सुरक्षा तयारी गरेका छौं,' जोशीले भने, 'कुनै पनि अवान्छित गतिविधि नियन्त्रण गर्न प्रहरी जनशक्तिदेखि प्रविधिको समेत प्रयोग गरिएको छ।'

भीडमा महिलाको गहना तथा पैसा लुट्ने गिरोहको पहिचान तथा नियन्त्रणका लागि सादा पोसाकका १५० महिला प्रहरी समेत परिचान गरिएको छ। परिसरले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्थापन गर्ने एसपीको कमाण्डमा पोस्ट र १२ स्थानमा सहायक कमाण्ड पोस्ट समेत खडा गरेको जोशीले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्वयंमसेवकको सहयोगमा बढीमा २ घन्टाभित्र दर्शन गरिसक्ने व्यवस्था मिलाएको छ।

शिवरात्रिमा शिवको प्रसाद भन्दै गाँजा-भाङ जस्ता प्रतिवन्धित पदार्थ बेच्ने, सेवन गर्नेलाई समेत कारबाही गर्ने एसपी जोशीले बताए। पशुपति क्षेत्रमा हुने अवैध गतिविधिको निगरानी गर्न प्रहरीले ३६ स्थानमा सिसिटिभी क्यामरा समेत जडान गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell