PahiloPost

May 15, 2024 | २ जेठ २०८१

२३ पाउन्डको केकदेखि बाल ‘जनसेना’ सम्म : पेरिसडाँडामा जनयुद्ध दिवसका सात रोचक दृश्य



नेत्र तामाङ

२३ पाउन्डको केकदेखि बाल ‘जनसेना’ सम्म : पेरिसडाँडामा जनयुद्ध दिवसका सात रोचक दृश्य

काठमाडौँ: नेकपा माओवादी केन्द्रले जनयुद्ध शुरु भएको २३ औं दिवस आज काठमाडौंस्थित पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा केक काटेर मनाएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख अतिथ्यमा वाइसिएल नेपालले जनयुद्ध दिवसको कार्यक्रम आयोजना गरेको हो। 
कार्यक्रमका केही रोचक दृश्यहरु

१)    २३ पाउन्डको केक


कार्यक्रमको मुख्य आकर्षण २३ पाउन्डको केक थियो। जनयुद्ध दिवस वाइसिएल नेपालले आयोजना गरे पनि केकको स्पोन्सर भने पूर्व जनमुक्ति सेना नेपालले गरेको हुनाले केकमा उसैको नाम लेखिएको थियो। केकको फोटो खिच्नेको घुइँचो लागेको थियो।
तत्कालीन माओवादी सेनाको लोगो अङ्कित केक प्रचण्डले मुसुमुसु हाँस्दै काटेका थिए। तीन वटा हिमालको चुचुरोको डिजाइन भएको केक काटिनासाथ बर्थ डेमा जस्तै लाइट ग्लिटर्स उडाइएको थियो भने नेवार बाजा घन्काइएको थियो।

२) सशरीर उपस्थित हुँदा पनि प्रेस विज्ञप्तिबाट शुभकामना



कार्यक्रम शुरु भइसकेको थियो। प्रमुख वक्ता अध्यक्ष प्रचण्ड नै थिए। तर, केक काटेको केही समयमै प्रचण्डद्वारा जारी प्रेस विज्ञप्ति पढेर सुनाइयो। पार्टी कार्यालयका सचिव प्रह्लाद बुढाथोकीले विज्ञप्ति पढेर सुनाएका थिए। प्रचण्डले प्रेस विज्ञप्तिबाटै शुभकामना दिए।

३) ‘घुम्न पल्केका साथीहरु’ भन्दै व्यङ्ग्य

कार्यक्रममा तिलक मल्ल ‘क्षितिज’को नेतृत्वमा सयजना कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्ने भनियो। उनीहरु नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ता थिए। मल्ल विप्लव समूहका वैकल्पिक केन्द्रीय सदस्य हुन्। उनको पार्टी प्रवेशसँगै कार्यकर्ता लहरमा भने ‘घुम्न पल्केका साथीहरु’ भन्दै हाँसो फैलिएको थियो। कार्यक्रममा सय जना प्रवेश भनिए पनि ५० जनाभन्दा बढी मञ्चमा पुगेको देखिएन। मल्ल यसअघि तत्कालीन नेकपा माओवादीमै थिए। कार्यक्रममा मल्लले प्रचण्डको प्रशंसा गर्दै क्रान्ति प्रचण्डले कोरेकै बाटोबाट पूरा हुने दाबी गरेका थिए।

४) न ओली आए, न वामदेव 


कार्यक्रम सुरु हुनुअघि उद्घोषकले एमाले नेताहरु पनि आउने भन्दै माइकबाट फुकेका थिए। एमाले र माओवादीबीच एकताको प्रसंग चलिरहेको बेला एमाले अध्यक्ष केपी ओलीलाई नै निमन्त्रणा गरिएको चर्चा थियो। एमाले नेताको उपस्थिति हुने भनिएपछि कार्यकर्ताहरु तरंगित बनेका थिए। तर, कार्यक्रममा न ओली आए, न वामदेव, न एमालेका अरु नै कुनै नेता देखिए। 

५) वैद्य र विप्लवलाई आह्वान, बाबुरामबारे बोलेनन्

माओवादी अध्यक्ष प्रचण्डले कार्यक्रमलाई सम्बोधन गर्दै देशमा बलियो कम्युनिष्ट पार्टीको आवश्यकता रहेको भन्दै मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीमा फर्कन आग्रह गरे। तर बाबुराम भट्टराईको भने नामै उच्चारण गरेनन्। आजैको कान्तिपुर दैनिकमा बाबुरामले ‘जनयुद्धलाई फर्केर हेर्दा’ शीर्षकमा लेख लेख्दै प्रचण्ड धारलाई ‘कम्बल ओढेर घ्यु खाने’ सजिलो र अल्छी बाटो भएको टिप्पणी गरेका थिए।

६) सहिद तथा बेपत्ताको फोटो नजिकै प्रचण्डको फोटो


कार्यक्रम स्थल झकिझकाउ परिएको थियो। कार्यक्रमको ब्यानरमुनि सहिद तथा बेपत्ताहरुको फोटो झुन्डाइएको थियो भने सम्बोधन गर्ने पोडियम नजिकै पार्टी अध्यक्ष प्रचण्डको फोटो झुन्डाइएको थियो। 

७) बाल ‘जनसेना’


केक ल्याएको भ्यानमा एकजना बालक भङ्ग भइसकेको माओवादी जनसेनाको पोशाकमा देखिए। ती बालक को हुन् भनेर धेरैले सोधखोज गरेका थिए। केहीले ती बालकसँगै फोटोसमेत खिचाएका थिए। पछि थाहा भयो, ती बालक त्यही भ्यान चालकका छोरा रहेछन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell