
चितवन: नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको विषय बुधबारसम्ममा टुङ्गो लाग्ने बताएका छन्।
आज यहाँ पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उहाँले पार्टी एकताको विषयमा आज वा भोलि टुङ्गो लाग्ने बताएका हुन्। पद बाँडफाँडका विषयमा पनि भोलिसम्ममा टुङ्गो लाग्ने विश्वास उनले व्यक्त गरे।
भरतपुर महानगरपालिका–९ स्थित शरदपुर माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा नवनिर्मित भवनको उद्घाटन समारोहमा सहभागी हुन आएका अध्यक्ष दाहालले ढिलोचाँडो आफू प्रधानमन्त्री बन्ने बताए।
देशको विकासका लागि तीन ठूला दलबीच आपसी समझदारीको खाँचो रहेको बताउँदै उहाँले तीन दलबीच समझदारी बनाउने काम भइरहेको बताए।
फरक प्रसंगमा अध्यक्ष दाहालले तत्कालीन समयमा गरिएको बृहत शान्ति सम्झौताले दुरगामी परिवर्तन ल्याउन सफल भएको बताए। नेपालमा भएको शान्ति सम्झौताले विश्वको ध्यान केन्द्रित गराउन सफल भएको उनको भनाइ थियो।
कार्यक्रममा अध्यक्ष दाहालले विद्यालयले निर्माण गरेको शिशु कक्षादेखि कक्षा ५ सम्मको दुई तले नौ कोठे भवनको उद्घाटन गरेका थिए।