PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

सिमरा गोल्डकप : साविक विजेता संकटा बाहिरियो, वीरगंज युनाइटेड सेमिफाइनलमा



राधेश्याम पटेल

सिमरा गोल्डकप : साविक विजेता संकटा बाहिरियो, वीरगंज युनाइटेड सेमिफाइनलमा

वीरगंज : डिफेण्डिङ च्याम्पियन संकटा क्लबलाई १–० गोल अन्तरले पराजित पर्दै वीरगंज यूनाइटेड क्लब सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

वीरगंज यूनाईटेडका लागि खेलको १६औं मिनटमा अमर डंगोलले गरेको गोल नै निर्णायक  बन्यो। विशाल राईको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले सम्हाल्न नसक्दा रिवाउण्ड बललाई डंगोलले गोलमा परिणत गरे।

पहिलो हाफमा सम्हालिन नसकेको संकटा खेलको शुरुवातमै १–० ले पछि परेपछि वीरगंजले झन आक्रामक खेल खेलेको थियो। झण्डै ७ हजार घरेलु दर्शकको समर्थन पाएको वीरगंज यूनाईटेडले पहिलो हाफमा संकटालाई दवावमा राख्यो।

दोश्रो हाफमा लयमा फर्किएको संकटाले थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरियो।

वीरगंज यूनाईटेडको जितमा निर्णायक गोल गरेका कप्तान अमर डंगोल खेलको २४औं मिनेटमा घाइते हुँदै मैदानबाट बाहिरीएका थिए। डंगोलले सेमिफायनल समेत गुमाउन सक्ने वीरगंज  यूनाईटेडका प्रशिक्षक सुलभ जंग राणाले बताए। उनको खुट्टामा चोट लागेको छ।

खेलको म्यान अफ दि म्याच वीरगंज यूनाईटेड क्लबका निशान लिम्बु घोषित भए।

फाइनल प्रवेशका लागि वीरगंज यूनाईटेडले बिहीवार त्रिभूवन आर्मी क्लबको सामना गर्नेछ। बुधबार हुने पहिलो सेमिफाइनलमा रुस्लान थ्री स्टार क्लबले मोरङ फुटबल क्लब विराटनगरसंग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell