
काठमाडौँः दुई दलका पार्टी अध्यक्षबीच लगातार दुई दिनको छलफलपछि एमाले र माओवादी केन्द्र पार्टी एकताका विषयमा ठोस गृहकार्यमा जुटेका छन्। दुबै दलका अध्यक्षहरु सह–अध्यक्षमा बस्ने र सरकार समेत आलोपालो रुपमा नेतृत्व गर्ने समझदारीपछि एकता प्रक्रियाले केही गति लिएको छ। सोमबार र मंलगबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकताबारे ‘वान टु वान’ छलफल भएको थियो।
सरकार गठनअघि नै पार्टी एकीकरणको समेत खाका स्पष्ट पार्नेगरी पार्टी एकीकरण प्रक्रिया अघि बढेको हो। दुई अध्यक्षबीच भएको सहमति अनुसार वाम एकता संयोजन समिति वा नयाँ कार्यदल गठन गरेर राजनीतिक र प्राविधिक विषयमा सहमतिमा पुग्ने गठबन्धनको तयारी छ ।
संयोजन समिति बैठक आज
दुई अध्यक्षबीच भएको सहमतिको स्पिरिट अनुसार वाम एकता संयोजन समिति बैठक बुधबार नै बस्दैछ। सम्भव भएसम्म बुधबार नै संयोजन समिति बैठकअघि दुई अध्यक्षबीच समेत छलफल हुनेछ।
एमाले सचिव प्रदीप ज्ञवालीले मंगलबारको शीर्ष नेताको सहमति अनुसार एकता संयोजन समितिको बैठक बुधबार दिउँसो बस्ने बताए। ज्ञवालीले भने ‘आज दिउँसो एकता संयोजन समितिको बैठक बस्नेछ। केही विषयमा होमवर्क त्यहाँ हुनेछ। सम्भवतः दुई अध्यक्षबीच पनि बुधबार संयोजन समिति बैठकअघि छलफल हुनेछ।’
संयोजन समितिको बैठक दिउँसो ३ बजे बस्ने तयारी छ।
यी हुन् एजेण्डा
संयोजन समितिले हालसम्म दुई अध्यक्षबीच भएको छलफल अनुसार पार्टीको भाबी नेतृत्व कसरी टुंग्याउने गृहकार्य गर्नेछ, पार्टीको नाम, हाल दुबै दलको स्थायी समिति, केन्द्रीय समिति तथा जिल्लास्तरमा रहेको नेतृत्व व्यवस्थापनबारे पनि गृहकार्य गर्नेछ। यस्तै, भातृ संगठनको एकीकरणदेखि एकता महाधिवेशन नहुँदासम्मका विषयमा छलफल हुनेछन्।
राजनीतिक विषय तथा अन्य सांगठानिक प्रतिवेदन लगायतका विषयलाई उच्चस्तरमा कार्यदल बनाएर टुङ्गोमा पु¥याउने गृहकार्य समेत वाम दलबीच छ।
तर, सरकार गठनको प्रक्रिया सुरु गर्दासम्म एकताको खाका भने संयोजन समितिले नै बनाउनेछ। निर्वाचन आयोगले ढिलामा फागुन ३ गतेसम्म प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम राष्ट्रपतिलाई बुझाउने तयारीमा छ। सोलगत्तै वाम दलबाट प्रधानमन्त्रीको दाबी पेश गर्ने तयारी छ।