
काठमाडौं: गायक पर्शुराम रिजालले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। गीतको बोल भने अभिनेत्री रेखा थापाको नाम राखेका छन्। थापालाई समर्पित भनिएको उक्त गीतको शीर्षक नै ‘रेखा थापाले’ हो।
कृष्णराज भण्डारीको शब्द तथा संगीत निर्देशन रहेको उक्त गीतमा उदयराज पौडेलको संगीत संयोजन छ। अर्जुन तिवारीको छायांकनमा भरत रेग्मीको सम्पादन रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सञ्चारकर्मी सुब्रत आचार्यले गरेका छन् ।
बिनोद न्यौपाने फिचर्ड भिडियोमा सूर्य योञ्जनको कोरियोग्राफी रहेको भिडियोमा क्रूभी ब्वाइजको प्रस्तुति पनि रहेको छ।
गायक पर्शुराम रिजालका अनुसार आठ वर्षअघि सुनसरी तरहराका एक युवकले नायिका रेखा थापालाई एउटा प्रस्ताव लेखेर पठाए– ‘मैले रेखा थापासँग बिहे गर्न के गर्नु पर्छ?’ ती युवकले कान्तिपुर पब्लिकेशन्सको साप्ताहिक पत्रिकामा प्रकाशित हुने नायिका रेखा थापाको लभगुरु स्तम्भमार्फत उक्त जिज्ञासा पठाएका थिए। वास्तवमा ती युवकले एक जना केटीलाई मन पराएका थिए, तर प्रेम प्रस्ताव राख्न नसकेर नायिका रेखा थापासँग प्रेम प्रस्ताव राख्ने आईडिया बताईदिन साप्ताहिकमा पत्राचार गरेका थिए। तीन पटकको प्रयासमा पनि साप्ताहिकमा उनको जिज्ञासा प्रकाशित नभएपछि उनले पुनः स्तम्भकार नायिका लभगुरु रेखा थापालाई नै आफ्नो बनाउन मैले कसरी प्रस्ताव राख्ने भन्ने जिज्ञासा राखे। ‘कृपया उत्तरको आशमा छु भनेर पठाए, तर त्यसको पनि उनले उत्तर पाएनन्, उल्टै साप्ताहिकको त्यो स्तम्भ नै बन्द भयो। लभ गुरुलाई जिज्ञासा राख्ने तीनै युवक हुन् गीतकार कृष्ण राज भण्डारी।