PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

आज डाकिएको न्यायपरिषदको बैठक नै बस्न सकेन



पहिलोपोस्ट

आज डाकिएको न्यायपरिषदको बैठक नै बस्न सकेन

काठमाडौं : दुई सदस्यको असन्तुष्टिपछि न्याय परिषद् बैठक औपचारिक रुपमा बस्न नै सकेन। नियुक्ति प्रक्रियामा वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र पदमप्रसाद वैद्धिकको असन्तुष्टि छ। 

आज बिहान १० बजे बैठक बोलाइएको थियो।   

वरिष्ठतम न्यायाधीश दीपकराज जोशी बिदामा छन्। यस अघि पनि आइतबारको बैठकमा उनी आएका थिएनन्। आजको पनि उनी अनुपस्थित रहे। प्रधान न्यायाधीशसँगको विवादका कारण उनी फागुन पहिलो सातासम्म बिदामा छन्। पारिवारिक कारण देखाउँदै जोशी एक साता अघिदेखि बिदामा बसेका हुन्। 

प्रधानन्यायाधीशले बालुवाटारमै कानुनमन्त्री र न्याय परिषद् सदस्य रामप्रसाद सिटौलासँग भने केहीबेर परामर्श गरे। 
न्याय परिषद सचिवालयमा भने प्रधान न्यायाधीशको राजीनामा माग गर्दै केही कानुन व्यवसायीहरुले आजै धर्ना दिएका छन्। कपिलदेव ढकाल लगायतका कानुन व्यवसायी धर्नामा जुटेका हुन्।

आज बस्ने भनिएको बैठमा सर्वोच्चसहित, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीशको सिफारिसका एजेण्डा थिए। गत आइतबार समेत यिनै एजेण्डामा छलफल भए न्यायाधीश जोशी अनुपस्थित भएकाले बैठक निश्कर्षविहीन भएको थियो। 

न्यायाधीश सिफारिसको प्रक्रियामा परिषद सदस्य पदमप्रसाद वैद्धिकले पनि असन्तुष्टि जनाउँदै आएका छन्। वरिष्ठतम न्यायाधीशको असन्तुष्टि र सरकारका प्रतिनिधि समेत कामचलाउ भइसकेको अवस्थामा न्यायाधीश नियुक्ति गर्न नहुँने वैद्धिकको अडान छ।

न्याय परिषद् स्रोतका अनुसार जिल्ला, उच्च र सर्वोच्चसहित तीनै तहका न्यायाधीश सिफारिस गर्ने प्रधानन्यायाधीशको मनासाय छ।

यसअघि उच्च अदालतको न्यायाधीश नियुक्ति प्रक्रियामा समेत वरिष्ठतम न्यायाधीश जोशीले निर्णयमा फरक मत राखेका थिए। उच्चका चार मुख्य न्यायाधीशको सिफारिस पनि बहुमतीय प्रक्रियाबाटै भएको थियो।
 

न्यायाधीश कहाँ कति रिक्त

हाल सर्वोच्च अदालतमा एक न्यायाधीशको दरबन्दी रिक्त छ। यस्तै, उच्च अदालतमा ११ न्यायाधीशको स्थान खाली छ। जिल्ला अदालतमा ३० न्यायाधीशको स्थान रिक्त भए पनि आन्तरिक ज्येष्ठता बाहेकका अन्य प्रतिस्पर्धीको लिखित परीक्षाको नतिजा न्याय सेवा आयोगले सार्वजनिक गरिसकेको छैन। आन्तरिक ज्येष्ठताका आठ जनाको हकमा भने परिषदले निर्णय गर्न सक्ने अवस्था छ।  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell