
काठमाडौंः निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी छलफल गर्न बिहिबार राजनीतिक दलहरुलाई बोलाएको छ। आयोगले बिहिबार साढे एक बजे निर्वाचनबारे छलफलको लागि राजनीतिक दलका प्रमुखलाई बोलाएको हो।
आयोगले आज प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा राष्ट्रिपतिलाई बुझाउने तयारी गरिरहेको छ। आयोगले सिफारिस सदस्यको नामावलीमा प्राविधिक त्रुटि सच्याउन दलहरुलाई दिएको समयसीमा साँझ ५ बजे सकिँदैछ।
निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘प्रतिनिधिसभा समानुपातिक परिणाम आजै राष्ट्रिपतिलाई बुझाउने छौँ। योसंगै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि छलफल गर्न दल प्रमुखलाई बोलाएका हौँ।’
राष्ट्रपतिको निर्वाचन संघीय संसद र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुने प्रावधान संविधानमा व्यवस्था छ। नेपालको संविधानको धारा ६२ मा राष्ट्रपतिको निर्वाचन सम्बन्धि व्यवस्था गरिएको छ।