
काठमाडौं : उपप्रधानमन्त्री कमल थापाले ऊर्जा र शहरी विकास मन्त्रालयको जिम्मेवारीबाट आज औपचारिकरुपमा बिदाइ लिएका छन्।
ती दुवै मन्त्रालयमा आज आयोजित बेग्लाबेग्लै कार्यक्रममा उनको बिदाइ गरिएको हो। ऊर्जा मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा उपप्रधानमन्त्री थापाले मुलुकको विकासमा आफ्नो कार्यकालमा महत्वपूर्ण निर्णय भएको दाबी गरे।
उनले भने– “मन्त्रालयमा आउँदा मैले आफ्नो मर्यादा र सीमा बुझेको थिए, धेरै महत्वकांक्षी थिइन, बूढीगण्डकीजस्तो राष्ट्रिय गौरवको आयोजना नेपाली पूँजीमा निर्माण गर्नेजस्ता ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण निर्णय र कार्य योजना तयार भएका छन्।”
ऊर्जा मन्त्रालयका सचिव अनुप शर्मा र शहरी विकास मन्त्रालयमा सचिव जीतेन्द्रनाथ शर्माले उपप्रधानमन्त्री थापाको बिदाइ गर्दै उनको कार्यकालमा कुनै राजनीतिक दबाब र प्रभाव झेल्नु नपरेको बताए।
वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाबाट एक दुई दिनभित्रै राजीनामा आउने चर्चा चलेको बेला उपप्रधानमन्त्री थापाले आज आफूले जिम्मेवारी सम्हालेको मन्त्रालयबाट बिदाइ भएका हुन्।