काठमाडौं : भक्तपुर घर भएका २८ वर्षीय प्रकाश लामिछाने। काठमाडौँको मख्खन गल्लीमा उनको मोबाइलको सानो पसल। त्यही पसल नजिकैको कपडा पसल, पसलमा काम गर्ने धादिङकी २० वर्षीया राधिका श्रेष्ठ।
बिग्रिएको मोबाइल लिएर एकदिन राधिका प्रकाशको पसलमा पुगिन्। त्यसपछि राधिकाको बिग्रिएको मोबाइल मात्र बनेन, उनीहरुको नयाँ सम्बन्ध नै बन्यो। पसले र ग्राहको नताबाट नयाँ बन्यो प्रेमी-प्रेमिका।
दुईवटा भ्यालेन्टाइन दिवश दुवैले सँगै मनाए। तर, अहिले प्रकाश प्रहरी कारागारको चिसो भुईँमा रात कटाइरहेका छन् भने राधिकाको मृत्यु भइसकेको छ।
मिसन प्रेम : उद्देश्य अपराध
प्रेम, प्रेमले जन्माएको आवश्यकता। अपराध अनि हत्या। राधिका र प्रकाशको जीवनमा यस्तै भयो।बिहेको लागि आवश्यक रकम जोहो गर्न प्रकाशले राधिका काम गर्ने पसलकै साहु श्यामसुन्दर अग्रवालको अपहरण गर्ने र फिरौती माग्ने योजना बनाए। प्रकाशको योजना राधिकाले सहजै स्वीकारिन्। त्यसै अनुसार अपराधको एउटा प्लट तयार भयो।
प्लटको योजना अनुसार नै राधिका र प्रकाश सुन्धारामा रहेको होटेल 'भारत'मा गएर दुईवटा रुम बुक गरे।
फागुन ५ गते दिउँसो करिब १ बजेतिर राधिकाले साहु श्याम सुन्दरलाई काम छ भन्दै सुन्धारामा बोलाइन्। आफ्नै स्टाफले होटलमा बोलाएपछि उनी लुरुलुरु आए। श्याम सुन्दरलाई ४०४ नम्बर कोठामा लगेर राखिन् उनले।
दुई जनासँगै बसेर रक्सी मगाए र खाए। केही समयपछि अग्रवाल मदिराको नशामा ढले। यत्तिकैमा अर्को कोठामा बसेका तीन जना आएर अग्रवाललाई बाँधे। त्यसपछि उनकै फोनबाट अग्रवाल अपहरण भएको भन्दै परिवारसित ८ लाख रुपैयाँ फिरौती मागे। योजनाअनुसार उनीहरु सफल भए। फिरौती पनि मिल्यो।
सिकारीकै सिकार
पैसा मिलेकै रात राधिका प्रकाशको घरमा पुगिन्। उनलाई प्रकाशले नै बोलाएका थिए। बिहे गर्नका लागि साहुको अपहरण गरेर प्रेमीको मिसन पूरा गरेकी थिइन् उनले। तर, प्रेमसँगै जोडिएको थियो अपराधको अर्को डरलाग्दो प्लट जसमा राधिका फस्दै थिइन्।घरमा पुग्ने वित्तिकै कोठा थुनेर साथीको सहयोगमा प्रकाशले राधिकाको हत्या गरे। उनको शरीरलाई बोरामा बाधेर जंगलमा फ्याँके। साहुलाई जालमा पार्ने राधिका आफै आफ्नो प्रेमीको जालमा परिसकेकी थिइन् जसले जीवन नै गुमाउनुपर्योे।
प्रकाशलाई घटनाको सात महिनापछि प्रहरीले दुवईबाट पक्रियो। प्रकाशले व्यापारीसँग फिरौती उठाउन राधिकालाई प्रेमिकाका रुपमा प्रयोग गरेको स्वीकार गरे।
अपराधको ट्र्याक 'अफेयर'
केही समय यता देशभर भएका ठूला अपराधिक गतिविधिमा अफेयर जोडिन थालेको छ। प्रेममा क्राइमको मिसावट! अफेयरमा रहने अनि विश्वास जित्ने। त्यही ट्र्याक हुँदै अपराधको बाटो पहिल्याउने। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का प्रमुख डिआइजी पुष्कर कार्की अफेयरकै बाटोबाट अपराधको ट्रेन्ड विकसित भइरहेको स्वीकार्छन्।'सामाजिक सञ्जालले मानिसलाई सजिलै नजिक्याएको छ। एक अर्कोलाई राम्रोसँग चिनिसकेको हुँदैन तर सम्बन्ध अगाडि बढिसकेको हुन्छ,' कार्कीले भने, 'अनि अपराधिक सोच भएकालाई यसले भरपुर सहयोग गरिरहेको छ।'
'डेटिङ टू डेथ'
प्रेमको परिभाषा नै बदल्नुपर्ने गरी दाङमा यस्तै घटना भयो। गत जेठ २६ गते दाङबाट अपहरणमा परे व्यापारी राजकुमार श्रेष्ठ। १८ वर्षीया पूजा घर्तीको प्रेम र यौवनमा लठ्ठ थिए उनी। पूजाका बाबु ४० वर्षका टीकाराम घर्तीले प्रेमको प्लट कोरिरहेका थिए। उनैको योजनाअनुसार उनले श्रेष्ठसँग प्रेमको नाटक गरेको खुल्यो। व्यापारी श्रेष्ठसँग फेसबुकमार्फत् उनको चिनजान भएको थियो।
जेठ २६ गते डेटिङ जान भनेर हिँडेका श्रेष्ठ त्यसपछि कहिले फर्किएनन्। पूजाले श्रेष्ठलाई बाबुको योजना अनुसार अपहरण गरिन्। अपहरण पछि फिरौती अनि हत्या भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
लभ सेक्स र धोका
केही साताअघि मात्र फलेवासस्थित कालिगण्डकी नदीको किनारमा हत्या गरेर फालिएको युवतीको शव फेला पर्योे। प्रहरीको अनुसन्धानपछि हत्याको अभियोगमा उनकै प्रेमी २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परे।उनीहरुबीचको प्रेम शारीरिक सम्बन्ध हुँदै हत्यामा गएर टुङगिएको थियो। युवती गर्भवती हुनु नै हत्याको कारण बन्यो। बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया युवतीको हत्या गरी पर्वतको व्यादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेर फरार भए।
डिआइजी कार्की पारिवारिक फ्रिडम र युवाहरु जीवन प्रणालीमा आएको परिवर्तनले प्रेमको परिभाषा नै बदल्न थालेको स्वीकार्छन्। अफेयर र अपराधको जालो बढ्नुमा यही परिवर्तन कारक बन्दैछ।
महानगरीय अपराध अनुसन्धान महाशाखामा दैनिक २ देखि ५ वटासम्म उजुरी प्रेमसँग जोडिएको साइबर क्राइम सम्बन्धि आउने गरेका छन् यतिखेर। यसरी उजुरी दिन आउनेमा अधिकांश युवती छन्। प्रेम सम्बन्धमा रहँदा खिचिएका तस्बिर र भिडियो सामाजिक सञ्चालमा राखिने, राख्ने धम्की दिएपछि उनीहरु प्रहरी गुहार्न पुग्छन्।
प्रेमसम्बन्ध असफल भएपछि उनीहरुले ब्लाकमेलिङ गर्ने गरेको साइवर क्राइम हर्ने प्रहरी निरिक्षक लिला डाँगी बताउँछन्।