.svg_.png)
किन्सासा : प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यहाँका दुई फरक जातिबीच भएको झडपमा परी बुधबार १३ जना स्थानीयको ज्यान गएको छ।
कङ्गोको इतुरी प्रान्तको एक गाउँमा हेमा तथा लेन्डु समुदायका सदस्यबीच सो झडप भएको थियो। त्यसमा परी १३ जनाको ज्यान गएको प्रान्तीय अधिकारीले जनाएका छन्।
यसअघि पनि गतहप्ता मात्र यी दुई जातिका बीचमा भएको यस्तै अन्तरजातीय भगडाका कारण २६ जना मारिएका थिए। त्यसपछि बुधबार फेरि यी दुई बीच ठूलो झडप भएको बताइएको छ।
यस क्षेत्रमा विभिन्न जातिका बीचमा यसरी नै समय समयमा झडप हुने गरेको छ। जसका कारण यहाँ एकले अर्का जातिको हत्या गर्ने गरेका छन्। यसबाट केही वर्षयता मात्र पनि हजारौँ नागरिक मारिएका छन्।
यो र यसै क्षेत्रको वरिपरि रहेका जिल्लाहरुमा एकले अर्को जातिमाथि आक्रमण गर्ने गरेका र यस्ता आक्रमणहरुपछि घर टहराहरूमा नै आगो लगाउने पनि गरेका छन्।
गत हप्ता र बुधबारको यो झडपमा कैयौँ नागरिकको ज्यान गएपछि अहिले घटनास्थलमा ठूलो संख्यामा प्रहरी र सेना परिचालन गरिएको र स्थिति सुरक्षा नियन्त्रणमा रहेको बताइएको छ।
उक्त क्षेत्रमा सन् २००१ र सन् २००६ मा भएका उक्त दुई समुदायबीचको हिंसात्मक द्वन्द्व कम्तिमा ६० हजार नागरिकले ज्यान गुमाएका थिए। यहाँ अहिले पनि समय समयमा जातीय कलह फैलिने गरेको पाइन्छ।
सिन्ह्वा/रासस