नेपालगन्ज : पाँचौ प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलमा प्रतियोगिता बिहीवारदेखि नेपालगन्जमा सुरु हुँदैछ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगितामा नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, पश्चिमाञ्च, आयोजक टिम, विदेशी टिममा बंगलादेश र भारत देहरादुतको टिमले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिता फागुनको ७ गतेसम्म चल्नेछ। लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउनेछ।
आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले प्रतियोगिताको तयारी पुरा भैसकेको र प्रतिस्पर्धा गर्ने टिम नेपालगन्ज आइसकेको बताए। उनले भने, 'प्रधानमन्त्री कप महिला भलिबलले खेलको विकासमा मात्र योगदान गरेको छैन। हामीले खेलको माध्यमबाट सिमामा सदभाव, धार्मिक र सांस्कृति सदभाव र एकतालाई कायम गर्न पनि योगदान गरिरहेको छ।'
'हामी प्रतियोगितालाई नेपालको नम्बर एक प्रतियोगिता बनाउने अभियानमा एक चरण माथी पुगिसकेको छौं। यसले हामी आयोजक टिमलाई उत्साही बनाएको छ।' ठकुरीले भने। 'प्रतियोगितामा हरेक वर्ष स्तरीय खेलाडीले भाग लिइरहेको छन्। यस वर्षदेखी बंगलादेश टिमको सहभागिताले हामीलाई उत्साही बनाएको छ। मिस नेपालले भलिबलको विकासमा सदभावना दुतको रुपमा काम गर्नु हाम्रो लागी झन गर्वको कुरा हो। यसका लागी मिस नेपालको आयोजक हिडेन ट्रेजर र मिस नेपाल निकितालाई विशेष आभार ब्यक्त गर्न चाहन्छौँ।'
प्रतियोगिता अघि बुधवार भएको पत्रकार सम्मेलनमा सहभागी हुने टिमका कप्तानले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताएका छन्।
नेपाल पुलिस क्लबकी कप्तान कोपिला उप्रेतीले प्रधानमन्त्रीको नाममा भैरहेको प्रतियोगिताले हरेक वर्ष स्तर बढाउँदै लगेकोमा खुसी लागेको बताइन्। उनले भनिन, 'हामी प्रतियोगिता खेल्न पाउँदा उत्साही हुन्छौं। अझ महिला भलिबलसँग मिस नेपाल जस्तो प्रतिष्ठित ब्यक्ति सद्भावना दुतको रुपमा जोडिदा झन खुसी लागेको छ। हामीसबैको सहकार्यबाट महिला खेलकुद, महिला भलिबल र महिला शसक्तिकरणमा योगदान गर्छ भन्ने लाग्छ।'
बंगलादेशको इफान ग्रुप महिला भलिबल टोलीकी कप्तान लाकी खातुनले प्रतियोगितामा नेपाली खेलाडीसँग खेल्न पाउनुलाई अवसरको रुपमा लिएको बताए। उनले भनिन, 'मलाई र मेरो टिमलाई यहाँ आउन पाउँदा खुसी लागेको छ। हामी आफनो खेल र क्षमताको विकास गर्ने कोसिस गरिरहेका छौं। यसमा प्रधानमन्त्री कप भलिबलले सहयोग गर्नेछ।
आयोजक न्यु इन्द्रेणी बागेश्वरी स्पोटिङकी कप्तान शर्मिला नेपालीले हरेक वर्ष आफुभन्दा सिनियर दिदीसँग खेल्न पाउँनु उत्कृष्ट अवसर भएको बताइन्। उनले भनिन, 'हामीले दिदीको खेल हेरेर आफनो खेललाई सुधार गर्ने कोसिस गछौं। घरेलु मैदानमा यस्तो प्रतियोगिता हुदा हामीलाई आफनो खेलको विकास गर्नु पर्छ भन्ने लाग्छ।'
देहरादुनकी कप्तान कृति थापाले प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउन सहयोग गरिरहेको बताइन्। उनले भनिन, 'मैले दोस्रो पटक प्रतियोगिता खेल्दैछु। प्रतियोगिता खेल्नका लागी हामी उत्साही हुने गरेको छौँ। अझ नेपाल हाम्रो लागी रोजाईमा पर्ने गर्छ।'
यस वर्षदेखी प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिस होम मिडियाको एक्सन स्पोर्टस र पश्चिम नेपालको लोकप्रिय रेडियो रेडियो कृष्णसारले प्रत्यक्ष प्रसारण गर्ने छ।