PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

करणको नटआउट ४२ रन मद्दतमा क्यानडामाथि नेपालको १ विकेटको रोमाञ्चक जित, वर्ल्ड कप क्वालिफायरमा छनोट



पहिलोपोस्ट

करणको नटआउट ४२ रन मद्दतमा क्यानडामाथि नेपालको १ विकेटको रोमाञ्चक जित, वर्ल्ड कप क्वालिफायरमा छनोट

काठमाडौं : करण केसीले नटआउट ४२ रन बनाएपछि डिभिजन टू को अन्तिम लिग खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित हासिल गर्दै नेपाल अर्को महिना हुने वान डे वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको छ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य नेपालले  अन्तिम बलमा ९ विकेट गुमाएर पुरा गर्दै रोमाञ्चक जित हासिल गरेको हो।

लिगमा ५ मध्ये ४ खेल जित्दै सर्वाधिक ८ अंक जोडेको नेपाल शीर्ष स्थानमा रहदै वर्ल्ड कप क्वालिफायरमा छनोट भएको हो।

४२.१ ओभरमा १४४-९ को अवस्थामा रहेको नेपाललाई करण र सन्दीपले दशौँ विकेटका लागि ५१ रनको साझेदारी गर्दै ऐतिहासिक जित दिलाए। नेपालको जितमा दशौँ नम्वरमा ब्याटिङ गरेका करणले ३१ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ४२ रन बनाए। यस्तै एघारौँ नम्वरमा ब्याटिङ गरेका सन्दीपले १८ बल खेल्दै नटआउट ५ रनको योगदान गरे।

त्यसअघि नेपालका लागि ओपनर दीलिप नाथले ४१, रोहित पौडेलले २७, आरिफ शेखले २६ रन बनाएका थिए।

क्यानडाका लागि सेसिल परभेजले ३ तथा निखिल दत्त र साद वफरले २-२ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले ओपनर श्रीमन्थ विजेरत्नेको नटआउट १०३ रन मद्दतमा ५० ओभर खेल्दै ८ विकेट गुमाएर १९४ रन बनाएको थियो।

यस्तै अर्को खेलमा घरेलु टोली नामिबियालाई पराजित गर्दै युएई दोस्रो स्थानमा रहदै वर्ल्ड कप क्वालिफायरका लागि छनोट भएको छ।

५ मध्ये ३ खेल जित्दै क्यानडा र नामिबिया समान ६ अंक जोडेको युएई रनरेटमा अगाडी रहदै दोस्रो भएको हो।

अब नेपाल र युएईबीच उपाधिका लागि फाइनल खेल हुनेछ।

क्यानडा र नामिबिया डिभिजन टू मै यथावत रहेको छ। यस्तै पाँचौ भएको ओमान र छैटौँ भएको केन्या डिभिजन थ्री मा घटुवा भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell