सन् २०१९ मा हुने विश्वकप क्रिकेटका लागि जिम्बाब्वेमा हुने क्वालिफायर्स खेल्नका लागि नेपालले पहिलो मौका वर्ल्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपमा शीर्ष चार स्थानमा पर्न नसक्दा गुमाएको थियो। यही च्याम्पियनसिपमा पुछारमा रहेका चार टिम केन्या, युएई र नामिबियासँगै नेपाल डिभिजन २ मा रेलिगेट हुन पुग्यो।
तर नेपालका लागि अझै एक मौका थियो, डिभिजन थ्रीबाट बढुवा भएर आएका दुई टिम क्यानाडा र ओमानसमेत ६ टिमसित राउन्ड रोबिनको प्रतियोगिता। यसमा शीर्ष दुईमा रहन सकेमात्र क्वालिफायर्सका लागि छनौट निश्चित हुन्थ्यो।
नेपालले चार खेलमा तीन मात्रै जित्न सक्यो। यस्तो अवस्थामा आज क्यानडासँगको पाँचौ खेलमा जित छनौटका लागि महत्त्वपूर्ण थियो। अन्तिम ओभरको अन्तिम बलसम्म कसले जित्ने निश्चित नभएको यो रोमाञ्चक खेलमा अन्ततः नेपाल एक विकेटले विजयी भयो। यो खेलका पाँच रोमाञ्चक पल।
१) विजेरत्नेको शतक
नेपालले टस जितेर फिल्डिङ रोजेपछि क्यानडाले पहिले ब्याटिङ गरिरहँदा नेपालका लागि एउटा खेलाडी तगारो बन्न पुग्यो। ओपनर श्रीमन्था विजयरत्नेले प्रतियोगितामा दोस्रो खेल खेलेका थिए तर निकै संयमित ब्याटिङ गर्दै शतक ठोके। अर्को छेउमा ब्याटिङ गर्नेहरु धमाधम आउट भइरहँदा उनले १५२ बलमा १०३ रन त बनाए नै, नट आउटसमेत रहे। जारी प्रतियोगितामा व्यक्तिगत उच्च स्कोर बनाउने खेलाडीको कीर्तिमान नेपालविरुद्धको यही खेलमा बन्यो। जबकि यसअघि नामिबिया विरुद्ध पहिलो खेल खेल्दा उनले ८ रन मात्र बनाएका थिए। सन् १९८९ मा श्रीलंकाको कोलोम्बोमा जन्मेका विजेरत्नेले श्रीलंकाको यू-१९ टोलीका लागि समेत खेलिसकेका छन्। उनले सन् २०१५ मा नेदरल्याण्ड विरुद्ध क्यानडाका लागि लिस्ट ए खेलमा डेब्यु गरेका थिए। तर उनको शतकले क्यानडालाई नेपालविरुद्ध जित भने दिलाउन सकेन।
२) सन्दीपको इन्जुरीले परेको आपत
जारी प्रतियोगितामा बलिङतर्फका अधिकांश कीर्तिमान सन्दीप लामिछानेको नाममा छ। उनै सन्दीप आजको खेलमा घाइते थिए। खुट्टामा चोटका कारण उनको प्रदर्शन आज अरु दिन जस्तो भएन। नौ ओभर बलिङ गरेका उनले १ मेडन राख्दै दुई विकेट लिए र ४० रन दिन पुगे। बलिङ नजमेपछि १९५ रनको लक्ष्य नेपालले पायो, जुन नेपालको खराब ब्याटिङ हेर्दा कठिन देखिन्थ्यो।
३) नेपालको फ्लप ओपनिङले जन्माएको निराशा
नेपालको ब्याटिङ त्यसमा पनि ओपनिङ सधैँ निराशजनक रहन्छ। आजको महत्त्वपूर्ण खेलमा पनि त्यसले निरन्तरता पायो। २५ बलमा नौ रन बनाएर ओपनर ज्ञानेन्द्र मल्ल आउट भए। ज्ञानेन्द्रको ठाउँमा आएका कप्तान पारस खड्का ० रनमै आउट भए। स्कोरबोर्डमा मात्र २२ रन रहँदा नेपालको २ विकेट गुमिसकेको थियो।
४) १० औँ विकेटका लागि ५१ रनको साझेदारी
सोमपाल कामीलाई सातौँ विकेटका रुपमा गुमाउँदा नेपालको स्कोर १४२ रनमात्रै थियो। १४४ रन बनाउँदा वसन्त रेग्मीको आठौँ विकेट र आरिफ शेखको नवौँ विकेट गुमेपछि करण केसी र सन्दीप लामिछाने क्रिजमा थिए। ४२.१ ओभरमा १४४-९ को अवस्थामा रहेको नेपाललाई करण र सन्दीपले दशौँ विकेटका लागि ५१ रनको साझेदारी गर्दै ऐतिहासिक जित दिलाए। अन्तिम ओभरको पाँचौँ बलमा छक्का हानी बलरलाई दबाबमा राखेका करणले कूल चार छक्का हानेका थिए। नेपालको जितमा दशौँ नम्वरमा ब्याटिङ गरेका करणले ३१ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ४२ रन बनाए। यस्तै एघारौँ नम्वरमा ब्याटिङ गरेका सन्दीपले १८ बल खेल्दै नटआउट ५ रनको योगदान गरे। करण र सन्दीपले १० औँ विकेटका लागि बनाएको ५१ रन नट आउट साझेदारी जारी प्रतियोगिताकै सर्वाधिक हो।
५) अन्तिम ओभरको त्यो रोमाञ्च
४८ ओभर सकिँदासम्म नेपाललाई १२ बलमा २१ रन जितका लागि आवश्यक थियो। एक विकेटमात्र बाँकी। ४९ औँ ओभरको चौथो बलमा करणले छक्का र त्यस लगत्तै अर्को बलमा चौका हानेपछि अन्तिम ओभरका ६ बलमा जितका लागि नेपाललाई ८ रन आवश्यक थियो। बलिङमा थिए परवेज। पहिलो चार बल डट गयो। अब दुई बलमा ८ रन नेपालका लागि कठिन लक्ष्य बन्दै थियो तर असम्भव भने थिएन। परवेजले फ्याँकेको अन्तिम ओभरको पाँचौँ बल नेपालका लागि निर्णायक बन्दै थियो। उनको बलमा करणले यसरी ब्याट घुमाए कि डिपमा रहेका फिल्डरको टाउको माथिबाट बलले बाउन्ड्री काट्यो। यो छक्कापछि बलर दबाबमा आए। अब अन्तिम बलमा नेपाललाई दुई रन आवश्यक थियो। एक रन बनाए खेल ड्र हुन्थ्यो। छैटौँ बल परवेजले वाइड हाने। स्कोर बराबर भयो। अन्तिम बलमा करण केसीले एक रन मात्रै लिएनन् नेपाललाई जिम्बाबेमा हुने वर्ल्ड कप क्वालिफायर्समा समेत पुर्याए जहाँ टेस्ट खेल्ने राष्ट्रहरु वेस्ट इन्डिज, जिम्बाब्वेसहित १० राष्ट्रसँग प्रतियोगिता छ।