PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

सिमरा गोल्डकप : थ्री स्टार फाइनलमा



राधेश्याम पटेल

सिमरा गोल्डकप : थ्री स्टार फाइनलमा

वीरगंज : मोरङ फुटबल क्लब विराटनगरमाथी ४–२ को जित निकाल्दै रुस्लान थ्री स्टार क्लब बाराको सिमरामा जारी रुस्लान नवौं सिमरा गोल्डकप फुटबलको फाईनल प्रवेश गरेको छ। थ्री स्टारको जितमा सुनील बलले २ तथा विष्णु गुरुङ र अनन्त तामाङले समान १ गोल गरे।  मोरङका कर्ण लिम्बुले खेलको अन्तिम समयमा २ गोल गरेपनि टिमको हार टार्न सकेनन्।

खेलको पहिलो हाफमा २–० ले पछि परेको मोरङ फुटबल क्लबमाथि थ्री स्टारले दोश्रो हाफमा दुई गोल थप्यो। खेलको ८० औं मिनेटसम्म मोरङमाथि ४–० गोलको अग्रता बनाएको थ्री स्टारका गोलरक्षक परिवर्तन भएलगत्तै मोरङले ८१ र ८४ औं मिनटमा लगातार २ गोल फर्कायो।

खेलमा ४–० को जित हात पारेपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले फाइनल प्रवेश सुनिश्चित भएपछि पहिलो रोजाईका गोलरक्षक एलन न्यौपानेको ठाउँमा अभिषेक बराललाई मैदान पठाएका थिए।

सिजनका दुई ठुला प्रतियोगिता जितेको थ्री स्टारलाई पहिलो पटक सिमरा गोल्डकपको उपाधि होडमा उभ्याउने क्रममा खेलको २३औं मिनटमा विष्णु गुरुङले पहिलो गोल गरेका थिए। सुनिल बलको क्रसलाई सदुपयोग गर्दै विष्णुले टिमलाई अग्रता दिलाए। ३५औं मिनटमा सुनील बलले थ्री स्टारको अग्रता दोब्बर पारे। डि वक्स वाहिरबाटै हानेको सुनील प्रहार गोलमा परिणत भएको थियो।

पहिलो हाफमा मोरङ विरुद्ध हावी भएको थ्री स्टारका सुनील बलले दोश्रो हाफको शुरुवातमै अग्रता फराकिलो बनाए। ४९औं मिनटमा डि वक्स भित्र पाएको निराजन खड्काको पासलाई सदुपयोग गर्दै सुनीलले थ्री स्टारलाई ३–० को अग्रता दिलाए।

खेलको ७७औं मिनेटमा थ्री स्टारले अर्को गोल गर्दै मोरङ विरुद्ध ४ गोलको अग्रता लिन सफल भयो। निराजन खड्काको कर्नर बलमा उत्कृष्ट हेडिङ गर्दै अनन्त तामाङले थ्री स्टारको जित सुनिश्चित गरे।

४ गोलको अग्रता पछि गोलरक्षक परिवर्तन गरेको थ्रीस्टार ८०औं मिनटपछि दवावमा पर्‍यो। गोलरक्षक एलन न्यौपानेको ठाउँमा आएका अभिषेक बराल मैदान प्रवेश गरेको पहिलो मिनेटमै थ्रीस्टारको अग्रता ४–१ मा झर्‍यो। मोरङका कर्ण लिम्बुले ८१औं मिनटमा पहिलो गोल गरे। डि बक्स भित्र पाएको बललाई सिधै पोष्टको दिशा दिएका लिम्बुको प्रहार थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले सम्हाल्न सकेनन्।

त्यसलगतै आक्रामक रुपमा प्रस्तुत भएको मोरङले अर्को गोल थप्दै थ्री स्टारको अग्रता ४–२ मा झार्‍यो। कर्ण लिम्बुले ८४औं मिनटमा दोश्रो गोल गरे। तर त्यसप५ भने गोल हुन केन र थ्री स्टार ४-२ ले विजयी भयो।

सिमरा गोल्डकपको उपाधि नजिक पुगेपछि थ्री स्टारका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो प्रदर्शन गरेको बताए। अन्तिम समयमा नयाँ गोलरक्षकलाई प्रयोग गर्दा २ गोल खाएपनि टिमको प्रदर्शनबाट आफू सन्तुष्ट रहेको उनले प्रतिक्रिया दिए।

हारपछि निराश बनेका मोरङका प्रशिक्षक पारस चौधरीले पहिलो हाफमै २ गोलले पछि पर्दा खेल गुमाएको प्रतिकृया दिए। थ्री स्टार विरुद्ध खेलाडीको प्रदर्शन सन्तोषजनक रहेको भन्दै उनले फिनिसिङमा चुक्दा हार व्यहोर्नु परेको बताए।

थ्री स्टारको जीतमा दुई गोल गरेका सुनिल बल म्यान अफ दि म्याच घोषित भए। बिहीबार त्रिभूवन आर्मी र वीरगञ्ज यूनाईटेड क्लबबीच दोस्रो तथा अन्तिम सेमिफाईनल खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell