काठमाडौँः प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पत्र बोकेर एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंम राष्ट्रपति कार्यालय पुगेका छन्। ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सँगै शितलनिवास पुगेका छन्।
ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बिहान ९ बजे ओली र प्रचण्डसहितका नेताहरु पत्र लिएर राष्ट्रपति कार्यालय प्रस्थान गरेका हुन्। ‘बिहान ९ बजे शितलनिवास जाने तयारी छ। एमालेबाट अध्यक्षज्यू र माओवादी केन्द्रबाट पनि अध्यक्ष लगायतका नेताहरु राष्ट्रपति कार्यालय जानुभएको हो’ अधिकारीले भने।
प्रधानमन्त्री शेरबहादुर देउवाले पनि ९ बजे नै मन्त्रिपरिषद् बैठक बोलाएका छन्। मन्त्रिपरिषद् लगत्तै राजीनामा दिने तयारी छ।
संविधानको धारा ७६ को व्यवस्था अनुसार एकल बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्रीको पहिलो दाबेदार रहनेछन्। हालको अवस्थामा कुनै पनि दलको एकल बहुमत छैन। बहुमत नभएको अवस्थामा एकभन्दा बढी दलबाट बहुमतप्राप्त संसदीय दलको नेता प्रधानमन्त्री चयन हुने व्यवस्था छ। राष्ट्रपतिबाट प्रधानमन्त्री चयन हुने संवैधानिक प्रावधान छ।
यसअघि वाम गठबन्धनको बुधबारको बैठकले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री चयनका लागि दावी पेश गर्ने निर्णय गरेको थियो। एमाले स्थायी समिति बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको थियो।