
काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन चरणका निर्वाचन नै आफ्नो सरकारका प्रमुख उपलव्धि भएको बताएका छन्। तीन चरणका निर्वाचन सम्पन्न हुँदा संविधान कार्यान्वयनले नयाँ फड्को मारेको प्रधानमन्त्रीको दाबी छ।
प्रदेश प्रमुखको नियुक्ति, सरकार गठन लगायतका काम सम्पन्न गरी संविधान अनुसारका संरचना गठन भएको उनले बताए।
सरकार छाड्नुअघि देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिताका कारण विकासका काम गर्न नसकेको बताए। उनले माथिल्लो तामाकोशी, भेरी-बबइ लगायतका राष्ट्रिय गौरवका कार्यक्रम अघि बढेको बताए। चमेलियाको उद्घाटन भइसकेको पनि उनले बताए।
छिमेकीसँगको परराष्ट्र सम्वन्धमा सुधार आएको पनि उनले बताए। पञ्चशीलको सिद्धान्तका आधारमा कुटनीतिक गतिविधि अघि बढाइएको र भारत भ्रमणपछि दुई देशबीचको सम्वन्धले थप नयाँ उचाइ प्राप्त गरेको देउवाको दाबी छ।
सम्बोधनमा उनले आर्थिक विकासले गति लिएको बताए। आर्थिक बृद्धिदर पनि सुधार आएको प्रधानमन्त्रीको दाबी छ। व्यापार असन्तुलनलाई सुधार गरिएको उनको दाबी छ।
सरकार गठनपछि जनतालाई सरोकारमा राखेर निर्णय भएको प्रधानमन्त्रीको दाबी छ। जनताको स्वास्थ्य र शिक्षा सरोकारका विषयमा काम भएको उनले बताए। चिकित्सा शिक्षा अध्यादेश जारी भएको र भावी सरकारले समेत यसलाई निरन्तरतता दिनेमा आफू आशावादी रहेको पनि उनले सम्बोधनका क्रममा बताए।
गरिवीको रेखामुनि रहेका जनताको हिस्सा घटे पनि असमानता कायमै रहेकाले लोक कल्याणकारी नीति अनुसार सरकारले काम गरेको उनले बताए। ५० जिल्लामा औसत आयु ७० भन्दा कम भएकाले जीविकोपार्जनका लागि ६५ वर्षमा भत्ताका व्यवस्था गर्नु समयसापेक्ष भएको उनले दाबी गरे।
सम्बोधनसँगै प्रधानमन्त्रीले राजीनामाको घोषणा समेत गरे।