PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

मुस्ताङमा गिद्धको नयाँ बासस्थान फेला



पहिलोपोस्ट

मुस्ताङमा गिद्धको नयाँ बासस्थान फेला

मुस्ताङः मुस्ताङको घरपझोङ र थासाङ गाउँपालिकाका सात स्थानमा लोपोन्मुख मांसाहारी पक्षी हिमाली गिद्धको बासस्थान फेला परेका छन्। 

ग्लोबल प्राइमेट नेटवर्क र मोडिफिकेशन जोमसोमले ड्रोन क्यामेराको सहायताले गरेको अध्ययनका क्रममा सात स्थानमा ४९ वटा हिमाली गिद्धका गुँड भेटिएको हो। लोपोन्मुख पक्षीको सूचीमा रहेको प्रकृतिका कुचिकार मानिने गिद्धको बासस्थान पहिचान गरी संरक्षणको काम गर्ने उद्देश्यले गत असारमा घरपझोङ र थासाङ गाउँपालिकाको पहाडमा ड्रोन क्यामेरामार्फत तस्बीर संकलन गरिएको थियो। 

छुङगुर, जोमसोम, कोबाङ, घासा, पैरो थाप्लाको भिरपाखाहरुमा ४९ वटा हिमाली गिद्धको बासस्थान पत्ता लागेको ग्लोबल प्राइमेट नेटवर्कका कार्यक्रम निर्देशक दिकपालकृष्ण कमाचार्यले जानकारी दिए।

उनका अनुसार दूरबिनको सहायताले सन् २०१३ र २०१४ मा दश दिन लगाएर गरिएको अध्ययनबाट तीन स्थानमा आठवटा गिद्धका गुँड पत्ता लागेको थियो। यसपालि चार दिनमा आठ घण्टा ड्रोन उडाएर गुँडको खोजी गरिएको थियो। मानिस पुग्न नसक्ने अप्ठ्यारो भिरपहरा र बस्तीदेखि टाढा भएकाले गृह, सूचना तथा सञ्चार मन्त्रालय, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लगायत निकायसँग अनुमति लिएर गिद्धको बासस्थान पत्ता लगाउन ड्रोन क्यामेराको प्रयोग गरिएको मोडिफिकेशन जोमसोमका सचिव सुविल थकालीले बताए।

आहाराका लागि शिकार नगर्ने गिद्धले मरेका जीवजन्तुको सिनो खाई बाँच्छन् र वातावरण सफा राख्न मद्दत पुर्याएका छन्। उपल्लो मुस्ताङमा बसोबास गर्ने लोवा जातिमा मृत मानिसको शरीर टुक्रा पारेर गिद्धलाई खुवाउने चलन रहेको छ। 

घरपझोङ गाउँपालिका–५ ठिनीका बासिन्दाले केही वर्षपहिले घरपालुवा जनावर मरेपछि खाडल खनेर गाड्ने गरेकामा अहिले बस्तीदेखि टाढाको खाली ठाउँमा लगेर विसर्जन गरी गिद्धलाई खुवाउने गरेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell