
धनगढीः प्रदेश ७ को मुख्य मन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १६८को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन्।
मुख्य मन्त्रीको शपथ ग्रहण भने फागुन ५ गते शनिबार गर्ने तयारी भएको छ।
एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए।
भट्ट डोटी जिल्लाबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भएका हुन्।
प्रदेश ७ मा एमालेका २५, माओवादी केन्द्रका १४, काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुई सांसद छन्। रासस