PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

दौरा लगाउन ओलीले दिएको निर्देशन उनकै सांसदले टेरेनन्



पहिलोपोस्ट

दौरा लगाउन ओलीले दिएको निर्देशन उनकै सांसदले टेरेनन्

काठमाडौं : प्रधान मन्त्री नियुक्त भएलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुका लागि उर्दी जारी गरे - ‘सपथ ग्रहण कार्यक्रममा दौरा सुरुवाल र साडी र चोली लगाएर आउनू।’

प्रदेश नम्बर २ मा मर्यादा पालकले लगाएको मयलपोस र कोटको विरोध भएको घटना सेलाउन नपाउँदै ओलीले संसदीय दलको बैठकमा दौरा सुरुवाल लगाउन निर्देशन दिएका थिए। 

तर, राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित प्रधान मन्त्रीको सपथ ग्रहण कार्यक्रममा आधाभन्दा बढी एमाले सांसद दौरा सुरुवालमा पुगेनन्। अधिकांश सांसद सर्ट पाइन्ट र सुट सजिएका थिए। 
 
सांसदको लाइनमा अगाडि देखिएका महासचिव ईश्वर पोखरेल भने दौरा सुरुवालमै थिए। उनले मन्त्रीमा सपथ लिने चर्चा चलेको भए पनि  सपथ ग्रहणको दर्शकमात्र रहे।  

अग्रपङ्क्तिमा रहेका पोखरेलबाहेक अन्य सांसद दौरा सुरुवालबिनै सहभागी थिए। सबैभन्दा अगाडि बसेका रघुवीर महासेठ सुटमा थिए।  

महेश बस्नेत ओलीले भनेकै पोशाकमा त थिएनन् तर उनको शिरमा ढाकाटोपी थियो। ओलीको निर्देशन र राष्ट्रपति कार्यालयमा सपथ कार्यक्रम छोटो अवधिमै सकिएकाले हुनुपर्छ आज ओलीको आग्रह उनकै पार्टीका सांसदहरुले पूरा गर्न सकेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell