काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूको फाइनल खेलमा संयुक्त अरब इमिरेट्सले दिएको २ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २ विकेट गुमाएर सय रन पूरा गरेको छ। २५ ओभर खेल सकिँदा नेपालले शतक जोडेको हो।
नेपालका प्रारम्भिक ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल र दिलिप नाथ क्रमश: २४ र १३ रन बनाउँदै आउट भए। २५ बलमा एक चौकासहित मल्लले २४ रन जोडेका हुन्।
त्यस्तै दिलिपले २९ बलमा १३ रन जोडे। आठौं र नवौं ओभरमा नाथ र मल्ल आउट भएपछि नेपाली टिम केही धरमराएको देखिएको थियो।
त्यसपछि ब्याटिङमा उत्रिएका पारस खड्का र दीपेन्द्र ऐरीको जोडी सम्हालिँदै नेपाली पारीलाई अगाडि बढाइरहेका छन्। २५.४ ओभरमा नेपालले सय रन पूरा गरेको हो। यो जोडीले ६३ रनको साझेदारी गर्दा नेपालले रन शतक पूरा गरेको हो। नेपालका जित यो जोडीको साझेदारीमा धेरै हदसम्म निर्भर रहने छ किनभने यसपाला प्रतियोगिताकै सबैभन्दा धेरै रन चेजिङमा नेपाली टिम जुटेको छ।
आजको खेल जिते नेपालले डिभिजन २ को उपाधिसहित आगामी महिना जिम्बाब्वेमा हुने वर्ल्ड कप क्वालिफायरको समूह एमा स्थान बनाउने छ जहाँ आयरल्याण्ड, नेदरल्याण्ड, पपुवा न्युगिनी र वेष्ट इन्डिज रहेको छ। नेपाल आजको खेलमा हारे डिभिजन २ को उपविजेता हुनेछ र क्वालिफायरमा समूह बीमा हुनेछ जहाँ र जिम्बाब्वे, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ रहेको छ।