PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

प्रदेश १ सरकारको पहिलो निर्णयमै छुट्यो तराई-मधेश, महिलाविहीन ५ सदस्यीय मन्त्रिपरिषद् गठन, विरोध सुरु



अनन्तराज न्यौपाने

प्रदेश १ सरकारको पहिलो निर्णयमै छुट्यो तराई-मधेश, महिलाविहीन ५ सदस्यीय मन्त्रिपरिषद् गठन, विरोध सुरु

विराटनगर : प्रदेश १ को मन्त्रिपरिषद्ले प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनका क्रममा शहीदले शहादत प्राप्त गरेका ठाउँमा नमुना बस्ती बनाउने निर्णय गरेको छ।

मुख्य मन्त्री शेरधन राईले बिहीबार दिउँसो शपथ ग्रहण गरेलगत्तै ४ जनालाई मन्त्रीमा शपथ ग्रहण गराएर मन्त्रिपरिषद्को बैठक गरेका थिए।

‘शहीदले शहादत प्राप्त गरेका भूमिमा मानव बसोबासका लागि शान्त, सुरक्षित, सुविधासम्पत्र, स्वस्थ, नैतिकवान् र सम्मानित जीवन यापनका लागि नमुना गाउँ र वस्ती निर्माण गरेर शहीदको सम्मान गर्ने निर्णय गरेका छौँ’, बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राईले भने, ‘मदन भण्डारी जन्मिएको ताप्लेजुङको ढुङ्गेसाँघु, शहीद रत्नकुमार वान्तवा र बमप्रसाद वान्तवाको जन्मभूमि इलामको चमैता, झापाको सुखानी र राम–लक्ष्मण शहीद भएको ओखलढुङ्गाको रामपुरमा यस्ता नमुना बस्तीको निर्माण गरिनेछ ।’

मुख्यमन्त्री शेरधनका अनुसार नेत्र गुरागाईं शहीद भएको तेह्रथुमको आङबुङ, धनकुटाको छिन्ताङ, २००७ सालको क्रान्तिमा नेतृत्व गर्ने रामप्रसाद राईको जन्मभूमि भोजपुरको बासिखोरा, हरि नेपाल र चन्द्र पुरीको हत्या गरिएको सङ्खुवासभाको स्यागुन, जमिन राई शहीद भएको भोजपुरको हतुवागढी पूर्णेडाँडा, तेह्रथुम भुवाको आठराई र पाँचथर मेहेलेबोटको शहीदभूमिमा पनि नमुना बस्ती बनाइनेछ ।

उनले भने, ‘आज हामीले निर्णय गर्यौँ । अब परियोजना, बजेट आदि सबैको व्यवस्थामा जुट्नेछौँ ।’

शपथ ग्रहणपछि ५ सदस्यीय मन्त्रिपरिषद्

यसअघि प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले स्थानीय वीरेन्द्र समारोहमा आयोजित विशेष समारोहमा राईलाई मुख्य मन्त्रीको शपथ ग्रहण गराएका थिए ।

सोही समारोहमा मुख्य मन्त्री राईले अन्य चार मन्त्रीलाई शपथ ग्रहण गराए। जसअनुसार  आन्तरिक मामिला तथा कानुन मन्त्रीका रूपमा हिक्मत कार्की, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा जगदीश कुसियत, आर्थिक मामिला तथा योजना मन्त्रीमा इन्द्र आङबोहाङ र सामाजिक विकास मन्त्रीमा जीवन घिमिरेलाई मुख्य मन्त्री राईले शपथ ग्रहण गराए । यसप्रकार तत्काल ५ सदस्यीय मन्त्रिपरिषद् बनेको शेरधनले बताए ।

बिहीबार गठन गरिएको मन्त्रिपरिषद्मा माओवादी केन्द्रका १ जना मात्र इन्द्र आङबोहाङ छन् । मुख्य मन्त्रीसहित ४ जना एमालेबाट छन् । 
मन्त्रिपरिषद्को विस्तार छिटै गरिने र सानो आकारको हुने उनले जानकारी दिए ।

नमुना बस्तीमा छुट्यो तराई–मधेस

मुख्य मन्त्री शेरधनको परिकल्पनाअनुसार गरिएको नमुना बस्तीको निर्णयमा तराई–मधेस छुटेको छ । शहीदका नाममा तथा शहादत भएका ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय अधिकांश पहाडी क्षेत्रका लागि मात्र र पहाडे मूलका बस्ती भएका स्थानमा मात्र गरिएको छ ।

मधेस आन्दोलनका क्रममा मोरङ र सुनसरीमा मधेसवादी दलका कार्यकर्ता शहीद भएका थिए । प्रदेश १ को सरकारमा मधेसको प्रतिनिधित्व गर्दै सुनसरीका जगदीश कुसियत मन्त्री बनेका छन् ।

मोरङको रमाइलो झोडामा पनि पञ्चायती सरकारले हत्याकाण्ड गरेको थियो ।

मन्त्रिमण्डलमा अटाएनन् महिला, विरोध सुरु

मुख्यमन्त्री शेरधनले बिहिबार गठन गरेको मन्त्रिपरिषद्मा कुनै पनि महिला सांसद्को नाम अटाएन । मन्त्रिमण्डलमा महिलालाई उपेक्षा गरिएको भन्दै महिला सांसद्ले विरोध गरेका थिए ।

‘मन्त्रिपरिषद्को अर्को विस्तारसम्म हामी पर्खन्छौँ, त्यस बेला पनि महिला साथीहरू उपेक्षित हुनुभयो हेर्दै जानुहोला आगो बाल्न हामी तयार छौँ’, एमालेबाट समानुपातिक कोटामा प्रतिनिधि सभामा निर्वाचित शिवमाया तुम्बाहाम्फेले भनिन्, ‘अहिले त हामी असन्तुष्ट र आक्रोशित मात्र छौँ भत्रे बुझ्नूस् । अर्को विस्तारमा पनि महिला साथीहरू पर्नुभएन भने यसको प्रकट तीव्र रूपमा हुनेछ ।’

खोटाङबाट प्रदेश सभामा निर्वाचित सांसद् उषाकला राईले मन्त्रिपरिषद्मा महिलालाई सामेल नगराएर समानुपातिक र समावेशी चरित्रको संविधानको खिल्ली उडाइएको टिप्पणी गरिन् ।

‘निरङ्कुशता र थिचोमिचो लाद्ने प्रयत्न भएको छ’, सांसद् राईको भनाइ थियो, ‘नयाँ नेपालमा नयाँ संविधान आएर नयाँ प्रकृतिको चुनाव गरिए पनि महिलाले पुरानै नियति भोग्न बाध्य हुनुपरेको छ ।’

प्रवक्तामा हिक्मत

मुख्य मन्त्री राईले मन्त्रिपरिषद्को प्रवक्तामा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई नियुक्त गरिएको जानकारी दिए । 
मन्त्री कार्की झापाबाट प्रदेश सभामा निर्वाचित हुन् ।

उपसभामुख पोखरेलको शपथ

बिहिबार प्रदेश सभाको बैठकपछि सभामुख प्रदीप भण्डारीले उपसभामुखमा सरस्वती पोखरेलाई शपथ ग्रहण गराए ।

सुनसरीबाट समानुपातिक कोटामा प्रदेश सभा सांसद् भएकी पोखरेल माओवादी केन्द्रकी हुन् ।

प्रदेश सभाको बैठकमा सांसदद्वय रामकुमार राईले उपसभामुखमा पोखरेललाई प्रस्ताव र इन्द्रमणि पराजुलीले समर्थन गरेपछि सभामुख भण्डारीले पोखरेल निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

प्रदेश सभाको अर्को बैठक फागुन १४ गते हुने सभामुखले जानकारी गराए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell