काठमाडौं : नामिबियामा सम्पन्न डिभिजन टू को फाइनलमा युएर्इसँग ७ रनले पराजित हुँदै उपविजेता बनेको नेपाल अर्को महिना जिम्बावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरको समूह बी मा परेको छ।
समूह बीमा नेपालसँगै टेष्ट प्लेइङ नेशन अफगानिस्तान र जिम्वावे तथा स्कटल्याण्ड र हङकङ छन्। नेपालले डिभिजन टू को लिग चरणको अन्तिम खेलमा बुधवार क्यानडालाई १ विकेटले हराउँदै क्वालिफायरमा स्थान पक्का गरेको थियो।
यस्तै डिभिजन ६ च्याम्पियन युएर्इ समूह ए मा परेको छ। समूह ए मा युएईसँगै टेष्ट प्लेइङ नेशन आयरल्याण्ड र वेष्ट इन्डिज तथा नेदरल्याण्ड्स, पपुवा न्युगिनी छन्।
मार्च ४ देखि २५ सम्म जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरबाट फाइनल पुग्ने दुई टिम मात्र सन् २०१९ मा इंगल्याण्डमा हुने वान डे वर्ल्ड कपमा छनोट हुनेछ।
क्वालिफायरमा दुवै समूह चरणको खेलपछि दुवै समूहबाट शीर्ष तीन टिम सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्समा प्रत्येकले प्रत्येक टिमसँग खेलेपछि बढि अंक हात पार्ने शीर्ष दुई टोलि फाइनल पुग्दै वर्ल्डमा छनोट हुनेछ।
यस्तै चार टेष्ट प्लेइङ नेशन र नेदरल्याण्ड्सबाहेक अन्य पाँच टिममध्ये शीर्ष ३ स्थान हात पार्ने एसोसिएट टिमले वान डे स्ट्यास पाउनेछ।
यदी नेपालले त्यो उपलब्धी हासिल गर्न सके पहिलो पटक वान डे स्ट्याटस पाउनेछ। आइसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपको विजेता भएको हैसियतले नेदरल्याण्ड्सले भने यसअघि नै वान डे स्ट्याटस सुरक्षित गरिसकेको छ।